तामाकोसि आयोजनामा सेयर आवेदनको म्याद बढाउन गरियो सिफारिस

Tuesday, August 28th, 2018 |

१२, भदौ, दोलखा । जिल्ला समन्वय समिति दोलखाले माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर आवेदनका लागि एक साताको म्याद थप गर्न आग्रह गरेको छ ।

समन्वय समितिले आग्रह गरेपछि माथिल्लो तामाकोसी आयोजना प्रवद्र्धक कम्पनीले पनि एक साताको म्याद थप गर्न धितोपत्र बोर्डसँग अनुरोध गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार तामाकोशी हाईड्रोपावरले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न पत्राचार गरेको छ ।

दोलखा जिल्लाबासिका लागि शेयर आवेदन गर्न यसअघि यही भदौ १४ गतेसम्मको म्याद तोकिएको थियो । आग्रह बमोजिम धितोपत्र बोर्डले एक साताको म्याद थप गरे २१ गतेसम्म सेयर आवेदन गर्न सकिनेछ । यसअघि निर्धारण गरिएको मिति सकिन अव दुई दिन मात्रै बाँकी छ । सेयर आवेदन गर्ने जिल्लाबासिको चाप कायम रहेपछि म्याद थपका लागि आग्रह गरिएको प्रवक्ता न्यौपानेले बताए । हालसम्म १ लाख ५६ हजार दोलखा जिल्लाबासिले सेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट २ अर्ब ६४ करोड बराबरको शेयर संकलन भएको छ ।
धितोपत्र बोर्डले सम्भवतः आयोजनाको आग्रह बमोजिम एक साताको म्याद थप्ने सम्भावना छ । आयोजनाले दोलखा जिल्लावासीका लागि ३० कित्ता देखि अधिकतम तीन सय कित्ताको सिमा राखेर १ अर्व ५ करोड ९० लाख बराबरको सेयर जारी गरेको छ ।

VIEWS: 1915