उर्जामन्त्री पुन बिधुतिय गाडी चढ्ने

Sunday, August 26th, 2018 |

पत्रपत्रिका बाट

उर्जा , जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज (आइतबार) बाट विद्युत सवारी प्रयोग गरेका छन् । पुनले गत बैशाख २५ गते गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रमा पनि विद्युत खपत बढाउन विद्युतीय सवारी प्रयोगमा जोड दिइने उल्लेख छ ।

प्राधिकरणले करिब ५६ लाख रुपैयाँमा किनेर उपलब्ध गराएको बा२झ ८९०३ नम्बरको गाडी मन्त्री पुनले उपयोग गर्नेछन् । मन्त्रालयले थप ३ वटा नयाँ विद्युत सवारी खरिद प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले अहिलेसम्म विद्युतीय सवारी प्रयोग गरेको छैन । तर, प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले ४ वटा विद्युतीय सवारी प्रयोग गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चढ्न विद्युतीय सवारी प्रयोगमा ल्याइएको छ । अहिले उपत्यका तथा उपत्यका बाहिर यस्ता सवारीको प्रयोग बढिरहेको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र १० हजार मेगावाट स्वदेशमै खपत गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । विद्युत खपत बढाउन पनि विद्युतीय सवारी प्रयोगलाई जोड दिने सरकारको मन्त्री पुनको रणनीति छ ।

स्वेतपत्रको ७२ नम्बर बुँदामा उल्लेख छ– विद्युतीय सवारी प्रयोग बढाउन आगामी पाँच वर्षभित्र आयातको ५० प्रतिशत पुर्याइने लक्ष्यलाई आधार मानी निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिनेछ । यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराइनेछ ।

VIEWS: 693