तामाकोशी पुगेर प्रधानमन्त्रीले भने−काममा ढिलासुस्ती भए तत्काल कारबाही गर्छु,

Wednesday, April 11th, 2018 |

२८ चैत्र, दोलखा


प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको निर्माण कार्य निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । आयोजनाको स्थलगत निरीक्षणका क्रममा आयोजना अधिकारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकार सवैखाले सहयोग गर्न तप्पर रहेको भन्दै निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्टिय गौरबको आयोजना निर्माणमा कुनै पक्षबाट हेलचेक्राई, ढिलासुस्ती र लापरवाही भए आफुलाई सिधै फोन गर्न पनि उनले आग्रह गरे । ।

,‘राष्ट्रिय गौरवको आयोजनामा लापरबाही गर्ने कसैलाई छुट छैन, ओलीले भने, त्यस्तो भएको पाईए तत्काल कारबाही गर्छु ।’
निर्धारित मितिमै आयोजना निर्माणका लागि सरकारका तर्फबाट कुनै विलम्ब हुन नदिने प्रतिबद्धता पनि उनले जनाए ।

सवैखाले बेथिति विरुद्ध कडा ढंगले प्रस्तुत हुने संकेत गर्दै ओलीले भने, निर्धारित मितिभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्छ । आयोजना निर्माणमा एक दिन ढिला हुँदा करोडौँ घाटा हुने भएकाले कुनै कसर बाँकी नराखि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

आयोजना निरीक्षणमा पुगेका उर्जामन्त्री वर्षमान पुनले पनि आयोजना समयमै पुरा गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउँछ, उनले विस्वास व्यक्त गरे ।

आयोजना अधिकारीहरुले भने सडकको अवस्था, डलर सटहीको समस्या लगाएतका कारण देखाउँदै आयोजना समयमै सम्पन्न हुन नसक्ने बताउँदै आएका छन् । दोलखाको लामावगरमा निर्माणाधिन माथिल्लो तामाकोसि आयोजना २०६७ सालदेखि निर्माण सुरु भएको हो । तर विभिन्न समस्याका कारण आयोजना निर्माणमा ढिलाई हुनुका साथै लाग बढ्दैछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले भुकम्प, भारतीय नाकाबन्दी, आदी कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने बताए । भारतिय कम्पनीले जिम्मा लिएको काममा ढिलासुस्ती हुँदा आयोजना निर्माण थप पछि धकेलिने आशंका गरिएको छ ।

उनका अनुसार हाल आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भईसकेको छ । जसमा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री, उर्जामन्त्री सहित चिनियाँ राजदूतको टोली आयोजना स्थल लामावगर पुगेको हो ।

तस्विर सौजन्य ः विगु गाउँपालिका–४ वडाध्यक्ष बुक्तम तामाङ ।

VIEWS: 1136