तामाकोशीको सेयर निष्काशनमा यसकारण भयो ढिलाई

प्रधानमन्त्री सहितको टोलीले स्थलगत निरीक्षण गर्दै

Tuesday, April 10th, 2018 |

२७ चैत्र, दोलखा । राष्टिय गौरबको आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर निष्काशन अझै ढिला हुने देखिएको छ । आयोजनाले आवश्यक सबै बिवरण पेश नगरेपछि धितोपत्र बोर्डले शेयर निष्काशनका लागि आयोजनालाई अझै अनुमति दिएको छैन । आयोजनाले दोलखा जिल्लाबासिका लागि छुट्याएको दश प्रतिशत र सर्वसाधरणको पन्ध्र प्रतिशत सेयर अझै जारी हुन सकेको छैन ।

धितोपत्र बोर्डका उप निर्देशक दिपेश ताम्राकारले आयोजनाले बोर्डको प्रबन्धपत्र, नियमावली अनुसार आवश्यक सम्पुर्ण विवरण पेश नगरेकाले बिवरण पत्र स्वीकृत हुन नसकेको जानकारी दिए । आयोजनाले गत कात्तिक महिनामै सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । त्यसपछि बोर्डले, आयोजनाले पेश गरेको बिवरण पत्र अपुरो रहेको भन्दै सच्याएर पुनः पठाउन भनेको थियो ।

बोर्डले गत माघ महिनामै त्यस्तो आग्रह गरेपनि आयोजनाले हालसम्म थप विवरण पेश नगरेको ताम्राकारले बताए । सुझाव अनुसाारको बिवरण प्राप्त भई थप अध्ययन गरेपछि मात्रै सेयर निष्काशनको अनुमति प्रदान गर्न सकिने बोर्ड अधिकारीको भनाई छ ।
स्रोतका अनुसार माथिल्लो तामाकोसि आयोजना प्रबद्र्धक कम्पनी (अपर तामाकोसि हाईड्रो पावर लिमिटेड) ले आयोजनाको (अडिट रिर्पोट) अनुसारको बित्तिय बिवरण, लगाएतका कागजात उपलव्ध गराएको छैन । सेयर निष्काशनका लागि धितोपत्र बोर्डको नियमावली, प्रवन्धपत्र अनुसार आयोजनाको विस्तृत बिवरण खुलाउनुपर्ने हुन्छ ।

यता आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले धितोपत्र बोर्डबाट माग भएका थप बिवरण छिट्टै पठाउने तयारी भैरहेको बताए । बोर्डबाट स्वीकृति पाएको तीन हप्तापछि सेयर निष्काशन गर्ने आयोजनाको तयारी छ । अपर तामाकोसि हाईड्रो पावर लिमिटेडले दोलखा जिल्लाबासि दश प्रतिशत र सर्वसाधरणको प्रन्ध्र प्रतिशत गरी कुल २ अर्व ६४ करोड ७५ लाख रुपैयाँ बरावरको आईपिओ जारी गर्नेछ । जसमा दोलखा जिल्लाबासिका लागि १० प्रतिशत अर्थात १ अर्व ५ करोड ९० लाख कित्ता सेयर निष्काशन हुनेछ ।

जिल्ला समन्वय समिति दोलखाले पुरानै निर्णय कायम राख्दै जिल्लाबासिलाई तीन बर्ग (क, ख र ग) मा विभाजन गरी ३० देखि ३ सय कित्तासम्म सेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । विदेशमा हुनेहरुलाई पनि लगानी गर्न सक्ने व्यवस्था गरिने र हरेक वडामा सेयर संकलन केन्द्र राख्ने निर्णय छ । जिल्लामा गठित सेयर सरोकार तथा संघर्ष समितिले निर्णय सच्याउन माग गरेपनि प्रतिनिधि तथा प्रदेश सभाका सांसद राजनितिक दल, स्थानीय जनप्रतिनिधिहरु हालकै निर्णयलाई कार्यान्वयन गर्ने मनस्थितिमा छन् ।

प्रधानमन्त्री र उर्जामन्त्रीको चासो
यसैबीच आयोजनाको प्रगतिबारे चासो राख्दै प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री बर्षमान पुनले आयोजनाको स्थलगत निरीक्षण गर्ने भएका छन् । निरीक्षणका लागि प्रधानमन्त्री ओली, उर्जामन्त्री पुन सहितको सरकारी टोली बुधवार विहान आयोजना स्थल लामाबगर पुग्ने कार्यक्रम छ । निरीक्षण टोलीमा चिनिया राजदुत सहित उच्च सरकारी अधिकारीहरु पनि सहभागि हुनेछन् ।
४ सय ५६ मेगावाट क्षमताको आयोजनामा अपेक्षित प्रगति हुन नसकेको र विद्युत उत्पादन गर्ने तोकिएको तालिका पनि पछि धकेलिने सम्भावना बढ्दै गएका बेला प्रधानमन्त्री सहितको टोलीले आयोजनाको निरीक्षण गर्न लागेको हो ।

VIEWS: 1108