वाम एकता भाँड्ने प्रयास सफल हुँदैन–प्रचण्ड
२१ माघ, काठमाण्डौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता भाँड्ने प्रयास भैरहेको बताएका छन् । वाम एकता असफल पार्न देशी विदेशी शक्तिहरु क्रियाशील रहेपनि त्यस्तो प्रयत्न कुनै हालतमा सफल हुन नदिने उनले बताए । एकता सफल पार्न एमाले अध्यक्ष केपी ओली र आफू लागि परिरहेको उनको भनाई छ ।
अखिल क्रान्तिकारीका नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले वामपन्थीहरुबीच एकताको घोषणा भएदेखि नै त्यसलाई भाँड्न देशी विदेशी शक्तिहरु क्रियाशील छन्, तर हामी दुबै जना त्यस्ता प्रयासलाई तोडेर जानेमा स्पष्ट छौं र एकतालाई टुंगो लगाउने तर्फ सक्रिय छौं भने।
हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि त एकताप्रति संशय राख्नेलाई झन् मसला मिलेको भन्दै उनले अब पछाडि फर्किने बाटो भत्किइसकेकाले कुनै हुनै हालतमा एकता भएरै छाड्ने दोहोर्याए । एकता प्रक्रियालाई नअल्झाइकन छिटो टुंग्याउने दिशामै छलफल भैरहेको जानकारी पनि उनले दिए ।
दुई दिनअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुवै अध्यक्षबीच अझै गहन छलफल गरी एकता प्रक्रियाका ठोस खाका तयार गर्ने समझदारी भएको थियो । अध्यक्ष दाहालले एकतासम्बन्धी सम्पूर्ण काम त तत्काल पूरा नहुने भएपनि ठोस आधार भने सरकार निर्माण गर्नुअघि नै तयार गरिने जानकारी दिएका छन् । राजनीतिक रुपमा कसरी एकता हुन्छ भन्ने चाहिँ माघ महिनाभित्रै टुंगोमा पुग्न सक्छौं ।
सरकार गठनअघि नै हुने एकताले पार्टी र सरकार दुवैलाई बलियो बनाउन सक्ने भन्दै प्रचण्डले एकताको विषयमा आएका हल्लाहरु सत्य नभएको बताए । उनले दुई पार्टीबीचको एकता घोषणा चार पाँच लाख मानिसहरुको सभामा हुने दावी पनि गरे ।