कृषि विकास बैँक क्षेत्रिय कार्यालय प्रमुखको चेतावनी–ऋण नतिर्नेलाई छोडिन्न

Wednesday, January 31st, 2018 |

कृषि विकास बैँक लिमिटेड, दोलखा शाखामा आर्थिक तथा ब्यवस्थापकीय अनियमितता भयो भन्ने विषयले निकै चर्चा पायो । शाखा प्रमुखले घुस मागेको र सेवाग्राहीलाई हैरानी दिएको भन्ने बिषय प्रचारमा ल्याईएका छन् । यसै सन्दर्भमा छानविन गर्न बनेको टोलीका प्रमुख एवं कृषि विकास बैँक क्षेत्रीय कार्यालय, जनकपुरका प्रमुख प्रमोदवाबु तिवारी संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ तिवारीसँग गरिएको कुराकानीको सार संक्षेप 


–नेपालमा कृषिविकास बैँक स्थापनाको उद्धेश्य के थियो ?
नेपाल कृषि प्रधान देश हो । सरकारले २०२४ साल माघ ७ गते कृषि क्षेत्रमा नयाँ प्रविधि र आधुनिकीकरण भित्र्याएर जनतालाई सहजकर्जा प्रदान गर्ने, सरकारकाबित्तीयकामकारवाहीलाई जनस्तरमा पु¥याउन र जनताको जीवनस्तर सुधार गर्न स्थापना भएको बैँक हो । कृषि क्षेत्रलाई ब्यवस्थित गरी जनताको आर्थिक विकास गर्ने यसको उद्धेश्य हो ।

– यो बैँकले आफ्नो उद्धेश्य अनुसारका कामहरु गरेको छ त ? यहाँ बाट पैसा लिँदा निकै सजिलो, नतिरे पनि हुने र धेरै बर्ष नतिर्दा छुट हुने, बैँक हो भन्ने बुझाई पनि छ नी ?
हाम्रो नारा नै “तपाई हाम्रो घर आँगनको बैँक” छ । देशभरमै हाम्रो ठूलो सञ्जाल छ । हाम्रो २ सय ५३ वटा शाखाहरु छन् । ४ सय २२ वटा साना किसान विकास आयोजनाहरु छन् । देशमा थुप्रै जनताको घरमा हामी पुगेका छौँ, यस मानेमा हामी उद्धेश्य अनुरुप नै काम गरिरहेका छौँ । कृषि विकास बैंकका बिषयमा केही भ्रमहरु छन्, सरकारी बैँक भएकोले सरकारले कहिलेकार्हीँ सहुलियत दिने गर्छ । हरेक बर्ष केही प्याकेजहरु ल्याईने गर्छ र यसैका आडमा केही ऋणीहरु कहिलेकाहीँ पैसा नतिर्ने वाहाना बनाउनुहुन्छ तर त्यसरी सजिलै उम्कने अवस्था छैन । नेपालमा सबै बैँकलाई हेर्ने छाता ऐन बनेको छ । अहिले यो बैँक पूर्ण सरकारी होइन यहाँ धेरै शेयर होल्डरहरु पनि हुनुहुन्छ, अब ऋणीहरु निकै सचेत हुनुपर्छ । आजको दिनमा आईपुग्दा हामी निकै ब्यवस्थित छौँ ।

– यो बर्ष दोलखा शाखामा निकै अनियमितताभयो भन्ने खबर बाहिर आयो, शाखा प्रमुखले सेवाग्राहीसँग घुस मागेका, पूर्वाग्रही ढंगले काम गरेका कुरा सुन्नमा आएका छन्, तपाईकै नेतृत्वमा छानविन पनि भयो, यो कुराको वास्तविकता के पाउनुभयो ?

दोलखा शाखामा विगतदेखि हामीले ध्यान दिईरहेका थियौँ । पहिलेका कर्मचारीले केही कमजोरी गरेको हुनाले करिब २५ प्रतिशत रकम भाखा नाघेर बसेको थियो । यसमा झण्डै ३० करोड रकम हुन आउँछ । अब यस्तो अवस्था रहनु हुँदैन भनेर हालका शाखा प्रमुख दीपक खतिवडालाई तपाई कडा ढंगले ऋण उठाउन लाग्नुस् भनेर हामीले निर्देशन ग¥यौँ र अन्य अटेरी गर्ने कर्मचारीलाई सरुवा पनि ग¥यौँ । जब दीपक जीले काम सुरु गर्नुभयो, त्यसपछि ऋण नतिरी बस्नेहरु सल्बलाउन थाले, पत्रिकामै नाम आउन थालेपछि त उनीहरुले देशका ठूलै तहका नेताको फोन लगाउने देखि धम्क्याउने, लोभ्याउने सम्मका कामहरु गर्नथाले तर बैँकले आफ्नो काम निरन्तर गरेपछि त्यस्ता ऋणीहरुले मिडियाको गलत प्रयोग गरेर अनावश्यक कुराहरु बाहिर ल्याए । वास्तवमा ती आरोपहरु कुनैपनि सत्य छैनन्, हामी अझै कडा ढंगले ऋण उठाउन लाग्छौँ । जनताको पैसा डुब्न दिदैनौ ।
हामीले यो बिषयमा मुख्य कार्यालयबाट प्रवक्ता मार्फत समाचारको खण्डन पनि गरेका छाँै । हामीले फिल्डमै आएर सेवाग्राही, ऋणी र कारोवार सबै हेर्दा अब ऋण उठाउने कुरामा चुप लागेर बस्ने अवस्था छैन । अहिलेकै प्रक्रियाले पनि निकै रकम उठिसकेको छ, यसलाई हामी झनै घनीभूत ढंगले अघि बढाउदै लैजान्छौँ । पहिलेका कतिपय कुराबाट सिकेर हामीले अब योजनाबद्ध ढंगले हाम्रा गतिविधि अघि बढाउछौँ लामो समय भएकालाई कालो सूचीमा राख्न सुरु गर्छौँ ।

–तपाईको कुराले त बैँकको दोष नै नभएको जस्तो देखियो तर हावा नचली पात हल्लिदैन भन्छन् नि?
हामीले विभिन्न मानिसहरुलाई भेट्यौँ । पत्रिकामा नाम आउने भनेपछि धेरैले पैसा बुझाएको पनि देखियो । पहिलेदेखि फलोअप नभएर पनि पैसा नउठेको पाइयो, यो त बैँकको कमजोरी नै हो । अनि देशको राजनीतिक अवस्थापनि संक्रमणमा रहेकोले उच्चपदमा रहनेहरुले कामगर्न नदिएको पनि देखियो । तर अब जेजे भएपनि बैँकको बिजनेस डुब्नेगरी कसैलाई माफी दिन नसकिने निष्कर्ष हो । जनकपुरमा सबैभन्दा बढी ऋण नउठेको शाखा यही नै हो । यसलाई हामी चाँडै सुधार गरेर नतिजा देखाउँछौँ ।

– सरकारी बंैकहरुको सेवानिकै फितलो हुन्छ, प्रविधि ल्याउन सक्दैनन, प्रतिस्पर्धामा जान सक्दैनन भन्ने आरोपहरु पनि छन्, नि के भन्नुहुन्छ ?
यी आरोपहरुमा केही सत्यता छ । बैँक स्थापना हुँदाको सन्दर्भ एउटा थियो अहिले अर्कै छ । प्रतिस्पर्धामा जान नसक्नेहरु मर्ज भैरहेका छन् । तर अहिले हाम्रो सेवा सुविधा राम्रो छ । सुरुमा देशमा कम्युटर प्रणाली भित्र्याउने हाम्रै बैँक हो । हामीले एसियाकै उत्कृष्ट सफ्टवेयर डेमोनस्टी २४ प्रयोग गरेर देशभरमै अनलाईन सेवा दिईरहेका छाँै । प्रविधिका हिसावले निकै अघि बढिरहेका छौँ मोबाईल बैँकिङ, एटीम भिजा कार्ड, एल.सी., टी.टी.(विदेशमा पैसा पठाउने सुविधा), आश्वा सुविधामार्फत जुनसुकै कम्पनीको शेयर हाल्ने ब्यवस्था छ यी लगायत नेपालमा उपलब्ध भएका सबै प्रविधिको भरपुर प्रयोग गरेर ग्राहकलाई सेवा दिईरहेका छौँ ।

–बैँकका ब्यवस्थापकीय चुनौती केके देख्नुहुन्छ ? कृषि विकास बैँकले कसरी लागु गर्र्दै जान्छ ?
बैँक भन्ने बित्तिकै पैसाको बिजनेस हो । यसमा थुप्रै चुनौतीहरु हुन्छन् तर हामीले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, जनशक्ति, अनुभव लगायतका कुरा मिलाएर अघि बढीरहेका छाँै । कर्मचारीलाई मोटिभेसन, तालिम जस्ता कुराहरु दिईरहेका छौँ । हामी यो बैँकलाई देशकै नमुना बैँकको रुपमा स्थापना गर्ने तयारीमा जुटेका छाँै । हाम्रो प्रमुख टेवा नै कृषिमा हुन्छ, यी बाहेक नुन देखि सुन सम्म भने जस्तै, सबै क्षेत्रमा लगानी गरिरहेका छौँ ।

–अन्तमा के भन्नुहुन्छ ?
बँैकबाट ऋण लिएर नतिर्ने प्रवृित्तलाई निरुत्साहित गर्नुपर्छ । हाम्रा बिषयमा जेजति कुरा बाहिर आएपनि हामी हाम्रो काममा सफा छौँ, पारदर्शी छौँ । पत्रिकामा आएका कुराले हामीप्रति सबैको ध्यान आकर्षित भयो, हामीले हाम्रा कुरालाई प्रष्ट पार्ने मौकापनि पाएका छौ । तर ऋण खाएर नतिर्नेलाई हामी छोड्नेवाला छैनौँ, जतिसुकै हल्लावाजी गरेपनि बैँकको ऋण तिर्नै पर्छ, यो संसारभरी कै नियम हो । यसमा सहयोग गरिदिन म सबैलाई आग्रह गर्दछु ।

संकलन
शरद सापकोटा

VIEWS: 636