खानेपानीको सुविधाले यसरी बदलियो दैनिक जिवनशैली

Wednesday, November 8th, 2017 |

२२ कात्तिक । मिर्गे । दोलखाको बैत्यश्वर गाउँपालिका स्थित मिर्गे भन्ज्याङकी निर्मला दाहाललाई खानेपापनीका लागि दुई घण्टा पैदल हिँडेर खोला धाउनुपथ्र्यो । विहान ५ बजे उठेपछि झण्डै ३ घण्टाको समय खानेपानीको जोहो गर्दै वित्थ्यो । त्यसमा पनि चाहेजति पानी नहुँदा भान्सा देखि दैनिक अन्य काम गर्न निकै अप्ठ्यारो थियो । वालबच्चाको सरसफाई देखि उनीहरुलाई खाना दिएर समयमै स्कुल पठाउन पनि हम्मे पर्ने गथ्र्यो ।

तर अहिले उनको जिवनशैली फेरीएको छ । घरको आगनमै चौविसै घण्टा खानेपानी झर्न थालेपछि निर्मला दंग छिन् । खानेपानीकै जोहो गर्दा लाग्ने घण्टौँको समय अहिले बचत भएको छ । त्यो समयलाई उनले अन्य घरायसि काममा प्रयोग गर्न पाएकी छिन् । “पहिला पानी ठिक पार्दै विहानभरीको समय वित्थ्यो, खुसि व्यक्त गर्दै उनले भनिन्, अहिले त, आगनमै पानी आएपछि सबै काम गर्न भ्याईएको छ ।”

त्यतिमात्रै होईन, पहिले खोलाको प्रदुषित पानी पिउन बाध्य निर्मला जस्तै अन्य उपभोक्ता अहिले स्वच्छ खानेपानी पिउँदैछन् । “खोला र सिंचाईको पानी पिउँदा ज्वरो, रुघाखोकी जस्ता रोगको प्रकोषले सताउँथ्यो, अहिले त्यस्तो समस्या छैन भन्ज्याङकै शोभा नेपालीले भनिन् ।”
सेवक नेपाल नामक संस्थाले बैत्यश्वर गाउँपालिका ४ मिर्गेको भन्ज्याङमा यार्सा गैरीधारा खानेपानी तथा सरसफाई कार्यक्रम सम्पन्न गरेसँगै उपभोक्ताले स्वच्छ खानेपानी उपभोग गर्न पाएका हुन् । उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर दाहालले खानेपानीको सुविधापछि उपभोक्ता धेरै लाभान्वित र खुसि भएको बताए । खनेपानीका लागि झण्डै दुई घण्टासम्म हिडेर सास्ती व्यहोर्नुपर्ने बाध्यता थियो, उनले भने सेवक नेपाललाई खानेपानी योजना बनाईदिएपछि हाम्रो त्यो दुख, सास्ती र समस्याका दिन सकिएका छन् ।”

सेवक नेपाल नामक संस्थाले निर्माण गरेको उक्त योजनाबाट मात्रै ३० घर परिधुरीका १ सय ६३ जना उपभोक्ता लाभन्वित छन् । कुल ८ लाख ६२ हजार ९ सय ५८ रुपैयाँको लागतमा उक्त योजना निर्माण कार्य सम्पन्न भएको हो । जसमा स्थानीय उपभोक्ताले १ लाख २४ हजार ८ सय ३९ रुपैयाँ लगानी गरेका छन् ।

समितिका अध्यक्ष दाहालका अनुसार योजनाको दिगोपनाका लागि मर्मत सम्भार कोषको स्थापना गरिएको छ भने केही पारिश्रमिक दिएर हेरालु राखिएको छ । खानेपानीको स्वच्छताका लागि आवश्यक किटनासक औषधी प्रयोग गर्ने व्यवस्था गरिएको छ । भञ्ज्याङको छिमेकी गाउँ ढाडे खोल्मेमा पनि सेबक नेपाललाई खानेपानी आयोजना सम्पन्न गरेको छ । त्यहाँ मुधान बैशाखेश्वरी खानेपानी आयोजना मार्फत २१ घरधुरीका १ सय १५ उपभोक्ताले सुविधा पाएका छन् ।

डेढ घण्टा हिडेर मुसुरेडाँडा भन्ने स्थानबाट पानी बोक्नुपर्ने वाध्यताबाट उनीहरु अहिले मुक्त छन् । खानेपानी र गाईबस्तुका लागि ठुलोपातल लगिएको पानी चोर्नुपर्ने अवस्था थियो, डेढ घण्टासम्म हिड्नुपथ्र्यो, समितिका कोषाध्यक्ष मान बहादुर खत्रीले भने, अहिले त्यो सबै समस्या अन्त्य भएको छ ।”

अमेरिकी अन्तराष्ट्रिय सहयोग विकास नियोग, युएसएडको आर्थिक सहयोगमा सेबक नेपालले खानेपानी र सरसफाईको अति समस्या भएका स्थानमा खानेपानी तथा सरसफाई कार्यक्रम संचालन गरेको हो । सेबक नेपाल दोलखाका कार्यक्रम अधिकृत प्रल्हाद तिमिल्सिनाका अनुसार विभिन्न गाउँपालिकामा गरी २६ वटा खानेपानी आयोजना सम्पन्न भैसकेका छन् ।

VIEWS: 810