बालकृष्ण शिवाकोटी भन्छन् ः साँच्चै काम गरेर देखाउन प्रदेश चुनाव लड्छु

Monday, September 4th, 2017 |

सरकारले आगामी मंसिरमा प्रदेश र केन्द्रिय प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेसँगै राजनितिक दलहरु त्यसको तयारीका लागि आन्तरिक गृहकार्यमा छन् । दोलखाका राजनितिक दलहरुभित्र संगठन सुदृढिकरणदेखि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बहस सुरु हुन थालेको छ । यो पृष्ठभुमिमा लगानी वोर्डका सदस्य समेत रहेका नेकपा एमाले उद्योग विभागका सदस्य वालकृष्ण शिवाकोटी पनि आगामी प्रदेश सभाको निर्वाचनका लागि आफुलाई तयार गर्दैछन् । प्रभावशाली उद्यमीको छवि बनाएका शिवाकोटी यसअघि प्रत्यक्ष राजनितिक रंगमञ्चमा त्यत्ति सक्रिय  नदेखिएपनि पार्टीको केन्द्रदेखि स्थानीय स्तरको आन्तरिक  राजनितिमा महत्वपुर्ण  प्रभाव राख्नसक्ने  नेताका रुपमा पनि चिनिन्छन् । शिवाकोटीले साझावोली डटकम सँग कुराकानी गर्दै  आगामी प्रदेशको निर्वाचनमा होमिने  योजना  समेत सार्वजानिक गरेका छन् । शिवाकोटीसँग साझावोलीले गरेको सम्वाद……।


समकालिन राजनितिलाई कसरी हेरिरहनुभएको छ ?
मुलुकमा स्थायीत्वका लागि संविधान कार्यान्वयन हुनुपर्छ । संविधान कार्यान्वयन गर्ने सवालमा स्थानीय तहको निर्वाचन भएको छ । अव दुईवटा प्रदेश र संघको निर्वाचन भैसकेपछि संविधान कार्यान्वयन हुन्छ । संविधान कार्यान्वयन भैसके पछाडी मुलुक कसरी बनाउने ? त्यसका निमित्त कसरी लाग्ने ? सवै राजनितिक दलको त्यही सोँच छ जस्तो लाग्छ । त्यसकारण मुलुकको सम्वृद्धिका लागि सवै एक ठाउँ हुनुहुन्छ । एक ठाउँ भएर नै यो मुद्धा अघि बढ्छ जस्तो लाग्छ ।

यो भन्दा अघि बढिजस्तो विजनेस सेक्टरमा विजि हुने गर्नुहुन्थ्यो, तर अहिले राजनितिक गतिविधिमा पनि त्यत्तिकै विजी हुन थाल्नुभाछ, के अब खुल्ला राजनितिमा सक्रिय हुने सोँच बनाउनुभएको हो ?
तँपाईले सोधेको प्रश्न अलि फरक छ । मैले पोल्टिक्स सँगसँगै विजनेस पनि गरिरहेको थिएँ । सवै मान्छेले सवै चिज सँगसँगै गर्नुपर्छ । राजनिति मात्रै गरेर मात्र पनि हुन्न भन्ने मेरो बुझाई हो । आफ्ना निमित्त, केही गर्नका निमित्त आफ्नो व्यवसाय हुनुपर्छ, त्यो सँगसँगै राजनिति पनि गर्नुपर्छ भन्ने मेरो मान्यता भएको हुनाले मैले सँगसँगै राजनिति पनि गर्दैछु । म ३७÷३८ सालदेखि म विद्यार्थी राजनितिमा लागेको मान्छे हो । म खुलमखुल्ला सँधैभरी पार्टीको फुलट्याम्मर कार्यकर्ता भएर हिँडेको मान्छे हो । खुल्ला आयो आएन भन्ने कुरा समय आएपछि देखिन्छ, नआउँदा नदेखिने कुरा हो ।

तर यो भन्दा अघि राजनितिमा अहिलेकै जति सक्रिय त कहाँ हुनुहुन्थ्यो र ?
त्यो त जिम्मेवारी के पाईन्छ, जिम्मेवारीले देखिने चिज हो । पार्टीले के जिम्मेवारी दिन्छ । के गर्नुपर्छ त्यसका आधारमा देखिने कुरा हो । कहिलेकाँही पार्टी राजनिति भनेको कुरा नदेखिएर पनि धेरै काम गरिएको हुन्छ, कहिलेकाँही देखिएर पनि कम काम गरिएको हुन्छ । त्यो हेर्ने दृष्टिकोणमा भर पर्छ ।

balkrishna shiwakoti
balkrishna shiwakoti

त्यसो भए तपाईलाई आम सर्बसाधरणले कसरी चिन्ने त, विजनेसम्यान भन्ने कि राजनितिक लिडर ?
म व्यवसायपनि गरेको, अघि पनि भनेँ, म सँगसँगै यो दुईटा फिल्ड, गरेको मान्छे हो र अरुलाई पनि त्यहि गर्नुपर्छ भनेर प्रेरणा दिन चाहन्छु । आ–आफ्नो हेर्ने दृष्ट्रिकोण हो । पुरै राजनितिमा लागेर हिडेको मान्छे, राजनितिक कार्यकर्ताका रुपमा चिनिएका हुन्छन् । विजनेसमा लागेका मान्छे विजनेसम्यान भनेर चिनिएका हुन्छन् । त्यसैले ठ्याक्कै यहि कुरा हो भन्ने हुन्न मान्छेको, सबै कुरा समय अनुसार, उसको कामका आधारमा, जिम्मेवारीका आधारमा चिनिने चिज भएको हुनाले हेर्ने मान्छेमा भर पर्ने कुरा हो ।

अबचाँही राजनितिक नेताको रुपमा आफुलाई बढि स्थापित गराउन खोज्नुभएको हो की ?
एउटा कुरा तँपाईलाई साँच्चै भन्नुपर्छ, दोलखाको सम्वृद्धिका निमित्त अलिकति मेरो व्यवसाय भन्दा पनि राजनितिमा लाग्यो भने केही गर्न सकिन्छ की भन्ने हिसावले आएको मात्रै हो, अरु कुरा केही होईन । अरु कुरा केही फरक छैन ।

होईन, अब हुने प्रदेश र संघको निर्वाचनलाई तार्गेट, लक्षित गरेर राजनितिक सक्रियता बढाउनु भएको होईन र ?
यो त तँपाईहरुले मुल्याङ्कन गर्ने कुरा हो । मैले जुनबेला पनि राजनितिक गतिविधिलाई पनि सँगसँगै लिएर गएको छु । सामाजिक कामलाई पनि सँगै लिएर गएको छु । अब यो चुनाव आएपछि यो मुद्धा अगाडी बढेको हो कि भन्ने देखिएको मात्रै हो । नभए मेरो गतिविधि मैले आफुले थाहा पाए अनुसार सँगसँगै लिएर गएको छु, यो तपाईहरुलाई पनि थाहा भएको विषय हो ।

आखिर जे भएपनि अव राजनिति तँपाईको प्राथमिकता बन्दै गएको कुरा ब्यवहारिक क्रियाकलापले देखाउँछ नी ?
मलाई लाग्छ राजनिति व्यवसाय होईन । हाम्रोमा एकदमै अलिकति गलत बुझाई हुन्छ । पेशा के भनेर सोध्यो भने राजनिति भनिन्छ । यो चिज होईन है भन्ने मेरा आफ्नो बुझाई छ र आम मान्छेले बुझ्नुपर्ने कुरा त्यो हो । त्यसैले राजनिति सेवा गर्ने चिज हो । सेवा गर्नका निमित्त आफुपनि त स्वतन्त्र रुपमा बाँच्न सक्ने, अर्थात आफ्ना पनि सामाजिक दायित्वहरु हुन्छन् त्यो पुरा गर्न सक्ने हुनुप¥यो । त्यसका निमित्त व्यवसाय या अन्य किसिमका काम गर्नुपर्ने हुन्छ । ती काम गरिएको मात्रै हो । त्यसैले राजनिति, मान्छेले बुझेदेखिनै गर्न खोजेको हुन्छ । त्यही चिज गरेको मात्र हो । अब कहिलेकाँही पार्टीले जिम्मेवारी दिएपछि जे जिम्मेवारी पनि बोक्नुपर्ने हुन्छ ।

त्यसो भए विशेषगरी अव हुने प्रदेश र संघको निर्वाचनमा तँपाईको भुमिका के हुन्छ त ?
म एकजना जिम्मेवार पार्टीको कार्यकर्ता हुनाले नेकपा एमालेलाई प्रदेश र संघमा पनि विजयी बनाउने भुमिका हुन्छ । एउटा जिम्मेवार कार्यकर्ताको हिसावले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी निष्ठापुर्बक पालना गर्ने मेरो आफ्नो प्रतिबद्धता छ ।

त्यहि त, पार्टीलाई जिताउने त, सवै नेता कार्यकर्ताको स्वभाविक चाहना हो । तर तपाईको व्यक्तिगत कुरा चाँही के हो ? आफुलाई चुनावी मैदानमा उतार्ने चाहना पनि त होला नी ?
अव त्यो पार्टीले जिम्मेवारी दियो भने पक्का हो, त्यसमा कुनै शंका छैन । अब धेरै साथीहरुले, त्यसमा पनि युबा साथीहरुले, दोलखाली जनताले एकचोटी प्रत्यक्ष राजनितिमा आउनुपर्छ भनेको हुनाले मेरा व्यक्तिगत चाहना पनि छ । किनभने साथीभाईले पनि यो गर्नुपर्छ भनेको हुनाले त्यसका लागि मेरो व्यक्तिगत प्रयास छ ।

भनेपछि प्रादेशिक निर्वाचनमा आफुलाई उम्मेदवारका रुपमा प्रतिस्पर्धामा उत्रने तँपाईको घोषणा हो ?
हो एकदम हो । यतिबेला भन्दाखेरी नितान्त निर्वाचनका लागि गरिएको विषयबस्तु जस्तो लाग्छ । म विनम्रतापुर्बक दोलखाली जनतालाई के भन्छु भने हिजो जसरी नेकपा एमालेलाई विजय गराउनका लागि भुमिका खेल्नुभएको छ, त्यही किसिमको भुमिका तँपाईहरुले पक्का खुल्नुहुनेछ । त्यसका निमित्त म आम जनतालाई आग्रह गर्दछु । पार्टीले जिम्मेवारी दियो भने प्रदेश चुनावमा मेरो पनि चाहना भएको हुनाले सँगसँगै त्यसमा पनि सहयोग गर्नुहुनेछ । आजसम्म मलाई दोलखाली आमाबुवा, दाजुभाई, दिदिबहिनीले माया गर्नुभएको छ । त्यहि किसिमको माया ममता पाउँछु भन्ने लागेको छ । यत्ति कुरा अहिले भन्न चाहन्छु । बाँकी कुरा निर्वाचनको बेला भेटमा प्रत्यक्ष के के गर्नुपर्छ त्यँही गरौँला ।

पार्टीभित्र धेरै आकांक्षी नेताहरु होलान्, टिकट तँपाईले नै किन पाउनुपर्ने ? र अन्य उम्मेदवारको तुलनामा तपाई कसरी फरक ?
सबैभन्दा पहिला त, नेकपा एमाले मुलुकमै सबैभन्दा ठुलो पार्टी हो । यसमा नेता कार्यकर्ता धेरै छन् । जनता धेरै छन् । अनि त्यसभित्र उम्मेदवारका निमित्त अर्थात केही चिज पाउनका लागि प्रतिस्पर्धा हुन्छ । यो एकदमै सान्दर्भिक कुरा हो । तर एउटा कुरा के छ भने त्यहाँ व्यवस्थापन राम्रो हुन्छ । त्यहाँ राम्रो मुल्याङ्कन हुने भएको हुनाले कसैलाई नजिक र टाढा राखिँदैन । त्यो सहज ढंगले हुन्छ पहिलो कुरो ।
दोस्रो कुरो निर्वाचित भएर आएपछि अर्थात निर्वाचित नहुँदापनि दोलखा सम्वृद्ध बनाउनका लागि दुई तीन वटा कुरा छ, हामीले स्थानीय निर्वाचनको बेला पनि केही कुरा भनेका थियौँ । सबैभन्दा ठुलो कुरो तामाकोसि तेस्रो निर्माण गर्न सकियो भने, पर्यटकिय हिसाबले दोलखा अत्यन्तै सुन्दर छ । त्यसले एक चिज थप गर्छ । त्यति मात्रै बनाउन सकियो भने दोलखाली आम जनताको आयस्तर बृद्धि हुनेछ । म नेपाल सरकारको लगानी वोर्डमा गएपछि पहिलो प्राथमिकतामा हुनुपर्छ भनेर पहल गरिरहेको छु । मलाई लाग्छ यो छिट्टै कार्यान्वयनको चरणमा जानेछ ।

अर्को कुरो चाईनासँग जोडिने फलाकको वाटो छ, यो छिटो जोडिनुपर्छ । त्यसले गर्दा तेस्रो मुलुकसँग हुने व्यापार असाध्यै धेरै हुने भएको हुनाले यी दुईवटा महत्वपुर्ण छन् । त्यसको साथमा कृषिमा प्राथमिकताका आधारमा केही गर्नुपर्छ भनेर सबैले भन्दै आएको कुरा हो । त्यो भन्दापनि पर्यटकिय क्षेत्र कसरी बनाउन सकिन्छ । त्यसका बारेमा सोच्नुपर्नेछ । यदि त्यो बातावरण बनाउन सकियो भने, अब कुरा गरेर हुँदैन । पर्यटक आएनन्, पर्यटकिय स्थल बनाउने भन्छौँ, हामीले त्यही किसिमका पुर्बाधारहरु, पर्यटक आएर बस्ने खाने, घुम्ने आदि यी चिजहरुको व्यवस्थापन र विस्तार गर्न सकेनौँ भने कुरा गरेर हुँदैन, त्यसका लागि के गर्न सकिन्छ, त्यही नै पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ, त्यसका निमित्त के गर्नुपर्छ, हामी सोचिराखेका छौँ । हाम्रा एजेण्डा, हाम्रा चुनावी प्रतिवद्धतामा पनि ती कुरा आउँछन् । त्यसैले सबै कुराको निर्धारण गर्छ ।

 

VIEWS: 8319