निबन्ध : एक्लो सङ्घर्ष

Saturday, July 1st, 2017 |

(लक्ष्मण सिटौला

तिमी एक्लो हुनुलाई अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु हो । तिमी एक्लो हुनुलाई एकलास भन्छ्यौ तर म भन्छु एक्लो हुनु ईश्वर नजिक पुग्नु हो । तिमी एक्लो हुनुलाई पूर्व जन्मको पाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु तपस्वी हुनु हो ।

एक्लो हुनु नदी जस्तै सफा हुनु हो । एक्लो हुनु हिमालझैँ स्निग्ध हुनु हो । एक्लो हुनु आफैमा पारलौकिक परमानुभूति प्राप्त गर्नु हो । एक्लो हुनु सुनकोसी हुनु हो । एक्लो हुनु आकाश हुनु हो । एक्लो हुनु फूल हुनु हो । एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो । एक्लो हुनु ऋषि हुनु हो । एक्लो हुनु इन्द्रेणी हुनु हो । एक्लो हुनु आकाशमार्गको पन्छी हुनु हो ।

एक्लै हुनु आफू हुनु हो । एक्लो हुनु त मनको आनन्दमा मिसिनु हो । आनन्द एक्लो हुनुमा फक्रिन्छ । एक्लो हुनु त किरण हुनु हो । जून एक्लै त थियो नि । घाम पनि त एक्लै थियो नि । ती एक्लोमा विविध छन् । ती एक्लोमा विश्वास नजिकै छन् । ती एक्लोमा स्वाभिमानी छन् । एक्लै त डुब्छ घाम क्षितिजमा तर उसले सबको खुशी फर्काउने बाचा लिएर डुब्छ । र आजसम्म ऊ त्यही सत्मार्गमा बिनाशर्त हिँडिरहेछ । हिँडिरहनु उसको कर्तव्य, खै मैले कहिले देखिनँ, घामले आजसम्म बाटो बिराएको ।

थाहा भएन उसले कसैमाथि विभेध गरेको । थाहा छैन उसले मेरो तेरो भनेको । थाहा छैन उसले कसैलाई चिसो र कसैलाई तातो दिएको, किनकि उ, एक्लो छ । एक्लो हुनु निर्मल हुनु हो । एक्लो हुनु विवेकी बन्नु हो । हरेक शब्द अक्षर एक्ला छन् । हरेक आवाज एक्लै ध्वनि त हुन्छन् । जङ्गली रुख पनित एक्लै छ ।
खै कहिले बिर्सियो र उसले एकान्तमा हावासँग मिलेर गीत गाउँनलाई । जङ्गलका चराहरु पनि एक्लै छन्, खै कहिले बिर्सेर तिनले वसन्तमा गीत गाउन ।

तिमी एक्लो हुनुलाई कोही नभएको सहाराहीन भन्छ्यौ तर म भन्छु एक्लो हुनु जीवनको लयसँग, जीवनको सुरसँग, जीवनको सङ्गीतसँग मिल्नु हो । जीवन त एक्लोमा कति मीठो छ । कसैले छोइदिएर बिटुल्याइदिएको फूल त भुइँमा खस्न सक्छ नि कुनै दिन । एकै सुर एकै स्वर एकै ताल आहा १ यसको मेलोडी । आहा १ यसको कम्पन । आहा यसको मूर्छना । वैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लै त छे नि तर पर परसम्म ऊ आफ्नो मृदुलित झङ्कार फैलाइरहेछे ।

संसार हेर्ने हाम्रा दुई आँखा पनि एक्ला एक्लै त छन् । के ती दुईको कहिले भेट भएको देखेकी छ्यौ र रु एक्लै त छ आँखा तर एक्लोमा उसले सदा नयाँ नयाँ संसार देखायो । दुई किन हुनुपर्ने रु म जन्मिएको एक्लै हो । तिमी जन्मिएको एक्लै हो अनि आमा, जसले हामीलाई जन्माइन् तिनी पनि त एक्ली थिइन् । एक्लै थिइन् तिनी जतिबेला तिनलाई सुत्केरी व्यथा लागेको थियो । तिमी गर्भभित्र एक्लै थियौ नि । न तिम्रो दाइ थिए, साथमा न तिम्रो बहिनी थिइन् साथमा । गर्भको खोल भित्र त तिमी एक्लै थियौ । श्वास लिँदा पनि एक्लै र स्वास छोडेर जाँदा पनि एक्लो त हो नि मनुष्य । यो चेतनाको चैतन्य चोलामा खोई कसले पायो र साथ कालन्तरसम्म ।

भीड त मलाई यति घातक लाग्छ भीडमा मान्छे पशु जस्तै अवचेतनमा हुन्छ । भीडभित्र लाज छोपिँदैन । यो संसारको आविष्कार र प्रगति कुनै भीडले बनाएको होइन । यो प्रगति एकान्तले बनाएको हो । यो वैभवता एकान्तले जन्माएको हो । एक्लोले बनाएको हो यो दुनियाँ । किनभने एक्लोमा चिन्तनले चिर नवनीता पाएको हुन्छ । आइस्टाइन एक्लै त थिए नि । भारतकी रत्न लतामङ्गेस्कर एक्ली त छिन् । तिब्बत स्वतन्त्रताका गीतकार दलाइ लामा एक्लो त छन् । बुद्ध एक्लैले त ल्याए शान्तिको धारा यो विश्वविभुमा र आजपर्यन्त त्यही शान्तिगीत गुन्जिरहेछ पृथ्वीको आधा पाटोमा ।

जतिबेला अलेक्जेन्डर ग्राहमवेलले टेलिफोनको ध्वनि सिर्जना गरे, एक्लै थिए त्यतिबेला । पछि यो खुशी उनले आफ्ना पिताजीलाई सुनाए । संसारलाई हसाउने चार्ली च्यापलिनसँग अर्काको गाँसिएको थियो र रु एक्लैले हसाए यो दुनियाँलाई । म हेर्छु कहिलेकाहीँ आकाशमा अनि देख्छु चन्द्रमा एक्लो । खुशी लाग्छ यो एक्लैले यत्रो संसारलाइ मीठो शान्ति र शीतलता बाँडिरहेछ ।

तिमी एक्लो हुनुलाई निरासताको सङ्केत भन्छ्यौ तर म भन्छु एक्लो हुनु स्वयम् जलेर अरुलाई उज्यालो देखाउने दियो हुनु हो । दियोसँग अरु को जल्यो र खै रु खै कसलाई जलायो र उसले उज्यालो देखाउन रु । मियो एक्लै उभिएको छ खेतमा र दस गोरुको बीचमा तर हेर त ती गोरुहरु त्यही मियो वरिपरि घुमेका छन् र धानका गेडाहरु झारिरहेछन् । सूर्य पनि त एक्लै छ तर हेर लाखौँ ग्रह त्यसकै वरिपरि घुमिरहेछन् । विशाल बन्ने वृक्षको बीउ एक्लो उम्रनुपर्छ पृथ्वीमा । लहलहाउने फूलका कलेवर स्वयं एक्लै छन् । पातहरु पनि एक्लै छन् ।

खै कोसँग मागेर तिनले हरियो सापटी रु सापटत भीडले माग्छ । उधारो त भीडले खान्छ किनकि भीड महाभारतको युद्ध हो । खै कसले जित्यो त्यो युद्ध रु कृष्णले जिते र रु कौरवले जिते रु वा पान्डवहरुले जिते रु भनिन्छ त्यो युद्धले सत्यले जित्यो रु सत्य खै कहाँ छ रु कसले देख्यो सत्य । सत्य एक्लो थियो । एक्लाहरुलाई देखिँदैन तर दिग्विजय एक्लोले गर्छ । सत्य सापेक्ष हुन्छ र आफूले खोजेको सत्य जहाँ पनि पाइन्छ । सत्यको स्वतन्त्र सत्ता हँुदैन । मानिसले सत्य आफै निर्माण गर्छन् । सत्य त सत्य हो तर जब सत्यलाई सबैले आआफ्नो निहित स्वार्थसँग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँसुसँग पग्लिदिन्छ ।

सत्य स्वयम् एक्लो छ । हिजोदेखि आजसम्म सत्यले भीड रोजेन । भीडमा असत् असत्य हुन्छ । हिजो भीडले नै हो भक्तपुरका कर्णेप्रसाद हेजुलाई छाताले घोची घोची मारेको । मानिस भीडमा पशु बन्छ । भीडमा एउटा नाङ्गियो भने सबैलाई नाङ्गिन कुनै डर हुँदैन । तिमी एक्लो हुनुलाई बथानबाट छोडिएको चरी भन्छ्यौ तर म त्यसैलाई बुल बुल भन्छु । भीड दुखेको देखेको छु मैले तर एकान्त कहिले दुखेको देखिनँ । एक्लो उभिएको पहाडलाई हेर्छु कति शान्त बाँचिरहेछ त्यो । भीड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुख्यो भनेन ।

म एक्लै छु । मलाई छोएर भाग्ने त्यो हावा एक्लै छ । भीरमा फूलेको गुराँस एक्लै छ । यतिबेला रातको एघार बज्यो । बाहिर रात पनि एक्लै छ । मेरो हातमा थुनिएको कलम एक्लै छ । श्वास प्रस्वास एक्लै गरिरहेछ भित्र बाहिर । म जीवित छु । ज्युँदो हुनेहरू एक्लैले सङ्घर्ष गर्छन् । भिडन्त लासलाई मात्रै चाहिन्छ । हिजो धरहरा एक्लै बाँचेको थियो र एक्लै ढल्यो । ऊ ढल्दा ऊसँग ढले कैयौँ एक्लाहरु । म पनि हिजो ढलेको धरहरा जस्तै हु एक्लो सत्य ।

इतिहासमा सत्यहरु पुरिए पनि कालान्तरमा ती पिपलु जस्तै फेरि फेरि उम्रन्छन् । तिमी एक्लो हुनुलाई नदीले छोडेर गएको बगर भन्छ्यौ तर म एक्लो हुनुलाई कालीगण्डकीले कुदेको सालिग्राम भन्छु । म छु । एक्लो छु । मसित सिर्फ मै छु अनि मैले गाउने गीत छ र त्यसलाई मैले कहिले एक्लो हुन दिएको छैन । गीतहरू जुन दिन एक्ला हुन्छन्, ती नारायणगोपालका ओठहरुबाट जुनकीरी भएर गुन्जिनेछन् मुटुका लयहरुबाट ।

रातोपाटी अनलाईनवाट

VIEWS: 887