भुकम्पमा बचेको सानो सपना थियो, त्यही पनि पहिरोले वगायो

Thursday, June 29th, 2017 |

१५ असार । स्थलगत रिर्पोट । भनिन्छ, बिपत्ती ढोल वजाएर आउँदैन । ढोल नबजाई आउने यस्ता धेरै बिपत्तीहरुले कयौँ नेपालीहरुको जिन्दगी चुडेको छ, सपना खोसेको छ, अनि विल्लिबाठ बनाएको छ ।

भिमेश्वर नगरपालिका–९ कुटकुते निवासि मंगले थामीका लागि मंगलवारको रात त्यस्तै बनेर आयो । मनो रोपेर मुरी उब्जाउने समय, दिनभर मेलापातको थकानपछि भोलीपल्टको काममा सबेरै निस्किने गरी मंगलेपरिवार सुतेको थियो । तर राती साँढे १ वजेको समयमै उनले चर्पी गएर फर्किँदा आफ्नो घर पहिरोमा परिणत भएको देखे तर एउटै ओछ्यान्मा सुतेका आफ्नी श्रीमती, दुई छोरी सहित एक छिमेकीलाई समेत देख्न पाएनन् । अझै घरभित्र सुतीरहेका दुई छोरी र श्रीमतीको साष तत्काल भेट्न सकिन्छ कि भन्ने आषमा उनले गाउँलेलाई हारगुहार गरे तर सम्भव भएन ।
खोजीका क्रममा श्रीमती शान्ती थामी, कान्छि छोरी रोशनी थामी  र छिमेकी लाटी थामीको शव घरभन्दा तल खोलामा भेटियो, उनका जेठी छोरी वर्षिया रोषनी थामी बेपत्ता छिन्।           

lakuridanda pahiro sajhaboli
फोटो सौजन्य ः गोकर्ण भण्डारी

डकर्मीको काम गर्दै आएका उनले जेठी छोरी रोशनी कक्षा ७ र अर्की छोरी सन्तोषीलाई कक्षा ५ मा पढाउँदै थिए । “भुईचालोले घर भत्काएनि बल्लबल्ल बाँचियो,” गला अवरुद्ध पार्दै उनले थपे, “दुख गरेरै भएपनि दुई छोरीलाई राम्रोसँग पढाउँ भन्ने ठुलो धोको थियो, त्यहीपनि पहिरोले वगायो ।”

“ठुलो पानी परेपछि अर्को टोल छिमेकीले घरमा नबस्नु त भनेको थिए, तर केही हुन्नहोला भनेर बसियो, यस्तो दिन देख्नुप¥यो, पश्चाताप गर्दै उनले भने ।” अलिअलि कमाएर सानो घर बनाउने अनि दुई सन्तानलाई पढाएर बस्ने सपना पहिरोले चकनाचुर पारेपछि उनको मनमा प्रश्न उब्जीएको छ । भन्छन्, “अव कसका लागि के गर्ने ?” पहिला भुकम्प र अहिले पहिरोले सवै कुरा गुमाएका मंगले थामी पिडा पोख्दै भन्छन्, “भगवानले त गरिबलाई हेर्नुपर्ने हो तर गरिबदुखिहरुको त, भगवान पनि शत्रु हँुदो रैछ ।”

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पहिरोमा परि बेपत्ता भएका तीन जनाको शव फेला परेपनि १२ वर्षिया रोशनीलाई अझै फेला पार्न सकिएको छैन । स्थानीवासि र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

डेढ दर्जन परिवार उच्च जोखिममा
उक्त पहिरो आसपासका एक दर्जन वढि घर परिवार उच्च जोखिममा छन् । पहिरोका कारण कुतकुते आसपासका डाँडागाउँ, गोगने, आहाले लगाएका ठाउँपनि जोखिममा छन् । वर्षा जारी रहे कुनैनि वेला ती ठाउँहरुमा पहिरो चल्न सक्ने स्थानीयले वताएका छन् । उच्च जोखिममा रहेका कुतकुतेका केहीलाई स्थानीय विद्यालयमा सारिएको छ भने अन्य छिमेकीको शरण लिएर वसेका छन् ।

VIEWS: 157