दक्षिण अमेरिकी विश्वकप छनौटः अर्जेन्टिना–चिली, ब्राजिल उरुग्वे भिड्दै

Monday, April 3rd, 2017 |

काठमाडौं । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत यो हप्ता महत्वपूर्ण खेलहरु हुँदैछन् ।
छनौट चरण त्यसअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रकोे खेलहरु भोलिबाट हुँदैछन् । १० देश सहभागी रहेको उक्त क्षेत्रमा विश्व फुटबलमा लामो समयदेखि दबाब कायम गर्दै आएका ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिलीसहितका देश छन् ।
छनौट चरणका अन्तिम खेलहरु आइपुग्दा रुस विश्वकप २०१८ मा स्थान बनाउन सबै टिमबिच कडा प्रतिस्पर्धा छ । १२ वटा खेल सकिँदा २७ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको उरुग्वेको २३ अंक छ ।
समान २० अंक भएका इक्वेडर र चिली तेस्रो र चौथो स्थानमा छन् । फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको अर्जे्न्टिना १२ खेलबाट १९ अंकसहित पाँचौं स्थान तथा कोलम्बिया १८ अंकसहित छैटौं स्थानमा छ ।

अब चार खेल मात्रै बाँकी रहेको अवस्थामा सातौं र आठौं स्थानमा रहेका पाराग्वे र पेरुको पनि छनौट हुने सम्भावना छ । छनौट चरण अन्तर्गतको निकै महत्वपूर्ण खेल नेपाली समय अनुसार आउँदो शुक्रबार बिहान अर्जेन्टिना र चिली तथा उरुग्वे र ब्राजिलबिच हुनेछ ।
गएको वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा पनि अर्जेन्टिना र चिलीबिच प्रतिस्पर्धा भएको थियो । त्यसमा चिलीले अर्जे्न्टिनालाई हराएर उपाधि जितेको थियो ।
अर्जेन्टिना त्यो हारको बदला विश्वकप छनौटमा लिन चाहन्छ । चिलीले विश्वकप छनौटमा अर्जेन्टिनालाई अहिलेसम्म हराउन सकेको छैन । उसले सन् १९९६ र २००३ मा अर्जेन्टिनालाई बराबरीमा भने रोकेको थियो ।

VIEWS: 206