हुम्लाका घरपालुवा पशुचौपायामा खोरेत रोग

Wednesday, May 29th, 2019 |

जेठ १५ हुम्ला सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिए । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मी नभएको भनेर फिर्ता गरेको परियारले जानकारी दिए । आफूले सिमकोटमा रहेको पठानेको पशु क्लिनिकबाट एक औषधिको २०० तिरेर औषधि लिएको उनले बताए ।

उता सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी भने यो भन्दा अगाडि पशु स्वास्थ्यकर्मी ठेहेमा पठाइएको भन्दै फेरि पनि पठाउने तयारी गरिरहेको बताए । अहिले ठेहेमा रहेका गाईवस्तुमा एकबाट अर्कोमा सर्दै गएकाले पूरै गाउँका गाईवस्तुले मुखमा ¥याल, खुट्टा पाक्ने रोग देखापरेको परियारले जानकारी दिए ।

गाउँपालिकाका पशुस्वास्थ्यकर्मी हिजोआज पशुमा देखिएको रोग प्रभावित क्षेत्र डाँडाफयामा उपचार गरिरहेको जानकारी प्राप्त भएको छ । वडा नं ७ मा पनि गाईवस्तुमा डिस्टोकिया रोग देखिएको हुनाले उपचारमा पशु स्वास्थ्यकर्मी खटिएको अधिकृत दर्जीले जानकारी दिए । रासस

VIEWS: 53