स्याउको विरुवा बेचेर करोडौ आम्दानी लिदै जुम्लाका किसान

Sunday, March 1st, 2020 |

जुम्ला १८ फागुन
जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए, उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो। उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उनी बताउँछन् । उनका अनुसार ‘स्याउको दाना बेचेर मात्र नभइ विरुवा विक्री गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ । उनी जस्तै अन्य किसानले पनि विरुवा विक्री गरेर जिल्लामा बर्षेनी करोडौं रकम भित्रा¥याउँछन् ।

यता चन्दननाथ नगरपालिकाका नरबहादुर रावत जिल्लामा उत्पादित स्याउका बिरुवा देशैभर पुग्ने गरेको अनुभव सुनाउँछन् । रावतका अनुसार ‘किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ, सबै बिरुवा बिक्री भइहाल्छ । किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनु पर्ने अवस्था नभइको उनको बुझाइ छ । जुम्लाको १४औं जिल्ला परिषद्ले एक घर एक स्याउ बगैंचाको अवधारणा ल्याएदेखि नै उनले स्याउको बिरुवा उमार्न थालेका हुन् । उनले भने, ¬‘पहिले जिल्लाभित्रै स्याउका बिरुवा खपत हुन्थे। अहिले सडक सञ्जालले जोडिएपछि पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म पुग्ने गरेका छन् । उनको नर्सरीबाट यो वर्ष आठ सय स्याउका बिरुवा बाहिरका जिल्ला निर्यात भइसकेको छ।

गुठिचौरका रुद्र र तलिउमका नरबहादुर उदाहरण मात्र हुन्। उनीजस्ता स्याउ किसानले जुम्लामा एक सय १० नर्सरी दर्ता गरेका छन् । जुम्लामा उत्पादित बिरुवाको माग जिल्लाबाहिर धेरै छ । कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार ‘यस वर्ष जिल्लामा ६ लाख स्याउका बिरुवा उत्पादन भएको थियो। नर्सरी बारीमै प्रतिबिरुवाको रु ४० रुपैयाँ कायम गरिएको छ। यो वर्ष झन्डै दुई करोड ४० लाख रुपैयाँबराबरको स्याउको बिरुवा बिक्री भएको देवकोटाको भनाइ छ । उनका अनुसार कुल उत्पादनको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ। ८० प्रतिशत उत्पादनको बजार जिल्ला बाहिर नै हो। ‘जुम्ला डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको उनी बताउँछन् ।

स्याउका बिरुवाको माग बझाङ, बाजुरा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, हुम्ला, कालीकोटलगायत जिल्लामा बढी छ। व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरिद गरिरहेका छन् । दुई वर्षअघि २५ रुपैयाँमा बिक्री हुने गरेका बिरुवाको मूल्य अहिले ४० पुगेको छ। यहाँका एक नगरपालिकासहित सातवटा गाउँपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेका छन् । फलफूलमा स्याउखेती सबैको प्राथमिकता हो। किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन अनुदान दिने स्थानीय सरकारले गर्दै आएका छन् । तातोपानी गाउँपालिकाले प्रतिबिरुवा हुर्काउन वार्षिक एक सय रुपैयाँ वितरण गरिरहेको छ। स्याउखेतीमा स्थानीयको आर्कषण बढ्दै गएपछि स्याउ उत्पादन हुने क्षेत्रफल बढ्दै गइरहेको कृषि प्राविधिक बताउँछन्।

पाँच वर्षको अवधिमा जुम्लामा करिब सात लाख स्याउको बिरुवा उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ। जुम्ली किसानले स्याउसँगै नर्सरीबाट पनि आम्दानी गरिहेका छन्। जुम्लाका आठै स्थानीय तहमा स्याउखेतीको सम्भावना राम्रो छ। जुम्लाका झन्डै १६ हजारभन्दा बढी घरधुरी स्याउखेतीमा निर्भर छन् । यतिबेला जुम्लाका किसानले स्याउ बगैंचा व्यवस्थापनको काम सकाएका छन्। बोटको कोपिला पलाउने र फुल्ने मौसम सुरु हुन थालेपछि किसानले बगैंचा व्यवस्थापनलाई जोड दिइएका थिए। ‘राम्रो काटछाँट नभए स्याउले उत्पादन राम्रो नदिने किसान जीवनबहादुर खत्रीको अनुभव छ । उनका अनुसार स्याउलाई गुणस्तरीय बनाउन आवश्यक मलखाद्य र व्यवस्थापनको जरुरी छ। सो कामका लागि यहाँका किसान लागि परेका छन्। । हिउँका डल्ला हिउँ संकलन पोखरीमा संकलन गर्ने, स्याउ बिरुवाको वरिपरि राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कलमी गर्ने, गोडमेल गर्ने, बोडो पेस्ट लगाउने स्याउ किसानले गरिसकेका छन् ।
स्रोत ः नागरिक न्यूज

VIEWS: 211