सुन्तलामा ‘हरास’रोग देखा परेपछि बोट मर्ने क्रम बढ्दो

Tuesday, January 2nd, 2018 |


पुष १८ चितवन

चितवनको पहाडी क्षेत्रमा व्यवसायिक रुपमा लगाइएको सुन्तलामा बोट मर्ने ‘हरास’ रोग देखिएको छ ।

यही रोगका कारणले यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन घट्ने देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

एक वर्षमा एक हेक्टर जग्गामा कम्तीमा नौ वटा बोट यही रोगले मारिरहेको जिल्ला कृषि विकास कार्यालय चितवनका वागवानी विकास अधिकृत धनबहादुर थापाले बताए ।

बोटको टुप्पो सुकेर मर्दै जाने यो रोग लागिसकेपछि नियन्त्रण गर्न समस्या आएको उनले बताए ।

जिल्लामा एक वर्षमा दुई हजार १५१ का हाराहारीमा सुन्तलाको बोट मरिरहेको थापाको भनाइ छ ।

यो रोग चितवनमा मात्रैं नभएर लमजुङ, गोरखा, तनहुँ लगायतका जिल्लामा पनि देखिएको छ ।

प्राविधिकका अनुसार सुन्तला एक हेक्टरमा ३०० बोट रोपिन्छ ।

विगत १० वर्षदेखि नेपालमा सुन्तलाको उत्पादन घट्दो क्रममा रहेको छ । सुन्तला उत्पादनमा अनुसन्धान गर्दै आएका विज्ञ प्रदिप रोकायाका अनुसार फूलफूल्ने समय, टिप्ने समय, टिप्ने तरिका, माटोमा न्यूट्रिसन र हर्मोनको कमी हुँदा उत्पादन घट्दै गएको हो । ‘बैशाख महिना सुन्तलाको फूल फुल्ने समय हो, सेक्टेम्वर फलको वृद्धि हुने समय हो, यो समयमा बढि न्यूट्रिसन सुन्तलालाई आवश्यक पर्दछ, हामी हरेक वर्ष फल मात्रै हेर्दैछौ माटोको अवस्था हेदैनौं ‘अनुसन्धानकर्ता रोकायाले भने, ‘कुनै एक कारणबाट मात्रै हरास रोग नलाग्दैन अन्य कारण पनि छन् ।’

माटोमा सुक्ष्म खाद्य तत्वको कमी, हर्मोनको प्रयोग नहुनु, समयमा नै गोलमेल र कट्नी छटनी नहुनु, सिचाइँको उचित समयमा व्यवस्थापन नहुने हरास रोग लाग्ने गरेको रोकायको तर्क छ ।

सुन्तलाको उत्पादन घट्यो

चितवनको पहाडी तामिन लगायतका स्थानहरु सुन्तलाका लागि प्रख्यात छन् ।

जिल्लामा यो वर्ष २३९ हेक्टरमा व्यवसायिक सुन्तला खेती गरिएकोे छ । यो बर्ष दुई हजार ४३ मेट्रिक टन उत्पादन हुने लक्ष्य जिल्ला कृषि विकास कार्यालयको रहेको छ । अहिलेसम्म सत्रसय मेट्रिक टन उत्पादन भैसकेको छ ।

अन्य केही सुन्तला किसानका बोटमा नै छन् । अघिल्लो बर्ष चितवनमा २०६ हेक्टरमा दुईहजार चार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तलाको उत्पादनशिल क्षेत्र अहिले २०१ हेक्टर छ ।

गत वर्ष ५०० क्विटल सुन्तला बेचेका तामिनका सुन्तला कृषक हरिबहादुर नेपालले यो वर्ष ४०० क्विटल सुन्तला पनि बेच्न सकेनन् ।

उनले गत वर्षको भन्दा यस बर्ष उत्पादन कम भएको बताए । तामिन चितवनकै सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत हो ।

यसका अलवा चितवनमा दारेचोककै तोङदाङ, चण्डीभन्ज्याङ, काउले लगायतका क्षेत्रमा सुन्तलाको खेती गरिन्छ ।

सुन्तलाको उत्पादन यसबर्ष घटेपनि मूल्य भने किसानले राम्रो पाएका छन् । गत बर्ष प्रति किलो सुन्तलाको ५० देखि ६० रुपैयाँमा बेचेका किसानले अहिले प्रतिकिलो ८० रुपैयाँ हात पारे ।

अघिल्लो वर्ष ६० रूपैयाँका दरमा दुई हजार ४३ मेट्रिक टन सुन्तला बेचेका चितवनका किसानले १२ करोड २५ लाख ८० हजार रूपैयाँ कमाएका थिए भने यो वर्ष प्रति किलो औसत ८० रुपैयाँका दरले सुन्तला बेचेका किसानले सोही अनुपातका आम्दानी गर्ने अवस्था देखिएको छ ।

नेपालमा एक हजारदेखि तेह्रसय मिटर उचाईमा गुणस्तरको सुन्तला उत्पादन हुन्छ ।

VIEWS: 27