सुन्तलाको पकेट क्षेत्रमा नै उत्पादन घट्दो

Friday, November 29th, 2019 |

असोज १२ डडेल्धुरा

सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको डडेल्धुरामा पछिल्ला वर्ष देखी उत्पादन घट्दै गएको छ। सुन्तला जातका फलफूलका बिरुवालाई विभिन्न रोग र कीराले नष्ट गर्न थालेपछि उत्पादन घट्दै गएको हो।

वार्षिक ५ हजार मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन हुने गरेको डडेल्धुरामा १÷२ वर्षयता उत्पादन घट्दै गएको किसानको भनाइ छ। जिल्लामा तीन दर्जन गाउँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ। ती गाउँमा रोगले बिरुवा मरेपछि उत्पादन घट्दै गएको हो।

भागेश्वर गाउँपालिकाको बगरकोट, चुल्लसिराड र रुपाल सुन्तला जातका फलफूलका लागि उत्कृष्ट स्थान मानिन्छ। तर, त्यस क्षेत्रमा सुन्तलाका बिरुवा हराउन थालेका स्थानीय नवराज जैशीले बताए। ‘सुन्तलाका बिरुवा नै सुकेर जान र दाना साना हुने मीठो पनि कम हुने गरेको छ’, उनले भने।

जिल्लाको बगरकोट, अमरगढी नगरपालिका, गांखेत, रुपाल, भागेश्वरलगायत ठाउँमा सुन्तला जातका फलफूलको उत्पादनका लागि प्रसिद्ध छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर बिष्टका अनुसार ‘केही वर्षयता सिट्रस ग्रेनिङ रोगका कारण बोट सुक्न थालेपछि सुन्तला उत्पादनमा कमी आएको हो।’

४ वर्ष पहिले घोषणा गरिएको पकेट क्षेत्रमा सुन्तलाका ठुटा मात्रै रहेको सुन्तला व्यवसायीको भनाइ छ। अघिल्लो वर्ष जिल्ला भरीमा ४ सय मेट्रिकटन सुन्तला मात्रै उत्पादन भएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। जिल्लामा राम्रो उत्पादन हुने सुन्तला पछिल्लो समय ह्रास आएको कृषि ज्ञान केन्द्र प्रमुख बिष्टले बताए। यस वर्ष सुन्तला, जुनार र अन्य बर्खे बालीमा समेत निकै ह्रास आएको उनले बताए।
विभिन्न निकायले हरेक वर्ष सुन्तलाका भोट वितरण गर्दै आए पनि उत्पादन बढेको छैन। डडेल्धुरामा पनि सुन्तला उत्पादनमा कमी आएकाले माटो नै परीक्षण गरी आधुनिक सुन्तला खेतीमा जानुपर्ने अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीले बताए।

सुन्तला उत्पादन कमी आउँदा गत वर्ष ५० देखि ६० रुपैयाँ प्रतिकेजी पर्ने सुन्तला यस वर्ष ९० देखि सय रुपैयाँ केजी बिक्री भइरहेको छ। जिल्लामा ४ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ। स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 49