सात सय विगाहको धानमा नेक ब्लाष्ट लागेपछि किसानले खेतमा आगो लगाउन थाले
चितवन १ असार
चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको चैते धानमा नेक ब्लाष्ट नामको रोग लागि धान झुल्ने बेलामा बालामा भुस मात्रै भएपछि किसान धान खेतमा आगो लगाउन बाध्य भएका छन् । राप्ती नगरपालिका ४ बेलुवाका किसान कमलप्रसाद तिवारीले २२ कट्ठामा रोपेको धान खेती धान पाक्ने समयमा नेक ब्लाष्ट रोग लागि पुरै बालामा भुस मात्रै भएपछि आगो लगाइ डढाउन बाध्य भएका छन् । पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि उनले आइतबार धानबारीमै आगो लगाए । धानको बोट चिसो भएकाले आगोले नष्ट नभएपछि उनले ट्याक्टर लगाएर पूरै खेत जोते । चैते धान भित्रा¥याइ असारे धान लगाउने समयमा भै सकेकाले धान लगाइएको खेतमा भुस मात्रै भएपछि उनले ट्याक्टर लागाई पुरै धानखेत जोतेका हुन् ।
धान लगाउँदा खेत जोत्नेदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ भन्दा धेरै खर्च भएको तिवारीको भनाइ छ । आफ्नो जीवनमा यसअघि धानमा यस्तो समस्या कहिल्यै नदेखेको र नभोगेको किसान तिवारी बताउँछन् । अरूको खेत भाडामा लिएर खेती गर्दै आएका तिवारी अघिल्लो वर्ष सोही जग्गामा ५५ क्विन्टल धान उत्पादन भएको अनुभव सुनाउँछन् ।
हर्दिनाथ–१ जातको धानमा समस्या देखिएको
पूर्वी चितवनमा हर्दिनाथ १ नामक धानमा यस्तो समस्या देखिएको हो । यस क्षेत्रका किसानले चैत पहिलो साता धान रोपेका थिए । राप्ती ४ बेलुवाआसपासमा झन्डै २० विगाहमा लगाइएको धानमा यस्तै समस्या देखिएको छ । यो क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धानको जोन पनि हो ।
प्रधानमन्त्री कृृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको छ । खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब ६० प्रतिशत धान खेतीमा यो रोगले क्षति पु(याएको छ ।
उत्पादन लिने वेलामा चितवनका सात सय विगाहमा लगाइएको धान खेती नोक्सान भएको तिमल्सिनाले बताए । धान रोपेयता किसानले चारपटकसम्म विषादी छरे पनि उपलब्धि शून्य रहेको उनको भनाइ छ । तिमल्सिनाका अनुसार चितवनमा चैते धान करिब पाँच सय हेक्टरमा लगाइँदै आएको छ । धान जोन क्षेत्रमा मात्रै २६ सय हेक्टरमा धान खेती हुन्छ ।
घाँटी मरुवा (नेक ब्लाष्ट ) रोग के हो ?
घाँटी मरुवा अर्थात् नेक ब्लास्ट नामक रोगले यसरी धान खेती सखाप भएको तिवारीले बताए । बाला सुकेर पहेँलै भएर धान पाकेकोजस्तो देखिए पनि यो रोग लाग्दा धानमा दाना नभई भुस मात्रै हुन्छ । नेक ब्लास्टले बालाको फेदमा आक्रमण गर्दछ ।
तिवारीकै साँधमा खेती गर्दै आएका बुद्धिराज खरेलको पाँच कट्ठा जग्गामा पनि हर्दिनाथ १ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे, तर बोट हरियो भएकाले आगो लाग्न सकेन । उनले धान रोप्दा ११ हजार रुपैयाँ खर्च भएको सुनाए ।
बेलुवाकै राधिका क्षेत्रीले भने धान उत्पादन नभए पनि परालका लागि धानको बोट काटेकी छिन् । ठूलो मेसिन प्रयोग गरेर शुक्रबार परालका लागि धान काटिएको उनले बताइन् । क्षेत्रीले १२ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै आएकी थिइन् । उनको गोठमा पाँचवटा गाई छन् । स्रोत : नयाँ पत्रिका