विर्तामोडको कृषि बजार नगरको स्वामित्वमा लिने तयारी
बैशाख ५ विर्तामोड
बिर्तामोडमा रहेको कृषि थोक बजारको चार बिघा जमिन आफ्नो स्वामित्वमा लिन नगरपालिकाले तयारी गरेको छ । बिर्तामोड चोकमा रहेको ठूलो परिमाणको जमिनमा सपिङ मलसहितको बजार निर्माण गर्नका लागि नगरपालिकाले मन्त्रालयस्तरमा पहल शुरु गरेको हो ।
एक नम्बर प्रदेशकै ठूलो कृषि बजारको रूपमा झापाको बिर्तामोडमा रहेको कृषिउपज बजारस्थल आफ्नो स्वामित्वमा ल्याउन नगरपालिका सक्रिय बनेको हो । नेपाल सरकारको मातहतमा रहेको कृषि मन्त्रालयअन्तर्गत कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयको स्वामित्वमा रहेको चार बिघा जमिनमा रहेको सो कृषि थोक बजार अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन । विभिन्न दलका स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका नेताहरूको प्रमुख चुनावी एजेण्डा बन्ने गरेको कृषि बजार व्यवस्थित नहुँदा उपभोक्ताले हरेक वर्ष सास्ती व्यहोर्दै आएका छन् । अव्यवस्थित कृषि बजारका कारण किसान र उपभोक्ता सधै मारमा पर्ने गरेका छन् ।
स्थानीय तह कार्यान्वयनमा आएको दुई वर्षपछि बिर्तामोड नगरपालिकाले व्यवस्थित बजार बनाउनका लागि जग्गाको स्वामित्व नगरको मातहतमा ल्याउन पहल शुरु गरेको हो । बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालगायतको टोलीले कृषि बजारको डीपीआर तयार गरी स्वामित्व माग्न प्रधानमन्त्रीको कार्यालयदेखि सम्बन्धित मन्त्रालयसम्म पुगेका छन् ।
टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री कार्यालयमा पुगेका मेयर शिवाकोटीका अनुसार नगरको स्वामित्वमा जग्गा आउने हो भने एडिबी लगायतका ठूला दातृ निकायबाट लगानी गर्ने प्रस्ताव आएको छ । कृषि थोकमा १० तलासम्मको सपिङ मल बनाउने लक्ष्यका साथ नगरपालिका लागिपरेको उनले बताए ।
कृषिथोक बजार व्यवस्थित बनाउनसके बिर्तामोडमा रहेको फुटपाथको समस्या हल हुने मेयर शिवाकोटीको दाबी छ । शिवाकोटीले नेपाली कृषकहरूको उत्पादनलाई प्राथमिकताका साथ बिक्री गर्ने स्थान दिइने तथा विपन्न वर्गलाई पहिलो प्राथमिकता दिएर मल सञ्चालन गर्ने लक्ष्य लिएर योजना अघि बढाएको जानकारी दिए ।
कृषिथोक बजारमा अहिले भारत, भुटान, बङ्गलादेश, चीनलगायतका मुलुकबाट कृषिजन्य उत्पादनहरू बिक्री वितरण हुँदै आएका छन् । वार्षिक करोडौंको कारोबार हुने कृषि बजार लगानी अन्यौलका कारण व्यवस्थापन गर्न नसकिएको कृषि थोकबजार स्थलका व्यवस्थापक सीताराम नेपालले जानकारी दिए ।
नगरपालिकाले आगामी आर्थिक वर्षसम्ममा जनताका अत्यावश्यक पूर्वाधारका कामहरू सम्पन्न गरिसक्ने बताएको छ । जसमा विश्व बैङ्कको ४ सय करोड, सघन शहरी विकासको १ सय करोड रुपैयाँलगायत अन्य निकायको सहयोगमा ठूला योजना आगामी आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य लिएको मेयर शिवाकोटीले बताए । विकास निर्माणसँगै अबको प्रमुख प्राथमिकता कृषि बजारलाई व्यवस्थित गर्नु हो, मेयर शिवाकोटीले भने, ‘यसबाट सयौंले रोजगारी प्राप्त गरी व्यवसायिक बन्ने अवस्था सिर्जना हुन्छ ।’
बिर्तामोडका सम्पूर्ण बैङ्क एकै ठाउँबाट सञ्चालन गर्ने, सम्पूर्ण फुटपाथ र पार्किङको सोही स्थानमा व्यवस्थापन गराउने लक्ष्य नगरपालिकाको रहेको छ । ग्रामीणक्षेत्रका कृषकको आर्थिकस्थिति उठाउन र शहरको सौन्दर्य कायम गर्न पनि यो योजना सफल हुनुपर्ने नगरपालिकाका शाखा अधिकृत देवराज कार्की बताउँछन् ।
वर्षौंदेखि अव्यवस्थित कृषि बजार रहँदा त्यहाँ उत्पादित फोहोर समेत व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले आफ्नो स्वामित्वमा कृषि बजार नभएको भन्दै फोहोरसमेत उठाएको छैन । जसले गर्दा कृषिबजार दुर्गन्धित बन्ने गरेको छ । यतिमात्र होइन, उचित ढल निकास नहुँदा वर्षायाममा डुबानको चपेटामा कृषि बजार पर्दै आएको छ । यी सबै समस्याको समाधान गर्न पनि कृषिबजार व्यवस्थित हुन जरुरी रहेको नेकपाका स्थानीय नेता अरुण श्रेष्ठ बताउँछन् ।
उनले नगरपालिकाले सम्पूर्ण रानीतिक दलसँग समन्वय गर्नुपर्ने र सर्वपक्षीय निर्णय लिएर केन्द्रीय सरकारलाई दबाव दिनसके कृषि बजारको स्वामित्व स्थानीय तहमा कायम गर्न सकिने बताए । सम्पूर्ण अधिकार स्थानीय तहमा आउँदासमेत स्वामित्वका कारण सम्भावना बोकेको कृषि बजार ओझेलमा पर्दै आएको छ