रोपाँई अगाडि नै सरकारले तोक्यो धानकोे समर्थन मुल्य
![](https://krishakkhabar.com/wp-content/uploads/2020/06/rice-field-1024x703.jpg)
काठमाडौँ ४ जेठ
सरकारले यस वर्ष धान रोपाँई हुनु अगावै नै धानको समर्थन मूल्य तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल मोटा जातको धानलाई २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम जातको धानलाई २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको हो । सरकारले पहिलोपटक धानबाली लगाउनुपूर्व समर्थन मूल्य तोकेको हो। यसअघिसम्म धानबाली कटानी भइसकेको अवस्थामा समर्थन मूल्य तोकिँदै आएको थियो। चालु आर्थिक वर्षमा गत कात्तिक ५ गते सरकारले धानको सर्मथन मूल्य तोकेको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गरेको मूल्यका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समर्थन मूल्य मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो। कृषि मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार मध्यम जातको धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ र मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोकेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो।
उनका अनुसार धानको उत्पादन लागत, किसानको घरदेखि बजारसम्म लाग्ने ढुवानी खर्च १० प्रतिशत र २० प्रतिशत मुनाफा जोडेर न्यूनतम् समर्थन मूल्य सिफारिस गरिएको थियो।
मन्त्रालयले गत् आर्थिक बर्ष २०७६।७७ मा मोटा धान प्रति क्वीन्टल २ सय ३ रुपैयाँ र मध्यम धान प्रति क्वीन्टल २ सय १२ रुपैयाँ बृद्धि गरी प्रस्ताव गरेको थियो। गत आबमा मोटा धानलाई २ हजार ५ सय ३१ र मध्यम धानलाई २ हजार ६ सय ७३ रुपैयाँ तोकेको थियो। स्रोत ः अन्नपूर्ण पोष्ट