रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

Monday, January 22nd, 2018 |


माघ ८ खोटाङ, – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ । रेन्बो ट्राउटको सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले नगरभित्रका दुई स्थानमा रेम्बो ट्राउट रेस–वे बनाउन कृषि उद्यमशिलता कार्यविधि पारित गरेको छ ।

रेन्बो ट्राउटको दुई वटा पालन केन्द्रका लागि नगरपालिकाले किसानलाई पाँचरपाँच लाख अनुदान दिने व्यवस्था मिलाएको मेयर दिपनारायण रिजालले बताउनुभयो । रेन्बो ट्राउटको बजार भाउ राम्रो भएकाले सोको माध्यमबाट गाउँमै स्वरोजगारको वाताबरण निर्माणका लागि नगरपालिकाले ट्राउट रेस–वे बनाउन कार्यविधि ल्याइएको हो ।

यस्तै, १८ वर्षदेखि ४० वर्ष उमेरका बेरोजगार, विदेशबाट फर्किएका नगरबासीलाई लक्षित गरेर नगरपालिकाले नमूना कृषि उद्यमी कार्यक्रम ल्याएको छ । माछा, तरकारी, च्याउ र महुरीपालन व्यवसायका माध्यमबाट नगरबासीलाई स्वरोजगार बनाउनका लागि नमूना कृषि उद्यमी कार्यक्रम ल्याइएको नगरले जनाएको छ ।

VIEWS: 13