यातायातको समस्याले गाउँमा ६० रुपैँयामा विक्री नभएको तरकारी सदमुकाममा १६०

Sunday, August 18th, 2019 |

भाद्र १ पर्वत
पर्वतको कुस्माका तरकारी व्यवसायीले गोलभेंडा प्रतिकिलो १६० रुपैयाँमा बेचिरहेका बेला करिब १२ किलोमिटर दूरीको मोदी–२ देउपुरका गुरुदत्त चापागाईंले प्रतिकिलो ६० रुपैयाँमा पनि गोलभेँडा विक्री गर्न मुस्किल भएको छ  ।

सदरमुकाममा हरियो तरकारीको मूल्य चुलिँदै गएको मात्रै होइन, व्यवसायीले भनेजति पैसा तिर्दा पनि उपभोक्ताले खोजेको तरकारी पाएका छैनन् ।

गोलभेंडा मात्रै होइन । अहिले बजारमा हरियो तरकारीको मूल्य अत्याधिक बढेको छ । बोडी, सिमी, काउली, बन्दालगायत तरकारी एक सय रुपैयाँ घटी किन्न पाइँदैन । िजिल्लाका लेकाली बस्तीमा हरियो तरकारी पर्याप्त मात्रामा फल्छ । गाउँ र बजारको दूरी टाढा हुँदा किसानले उत्पादन सहज रूपमा बजार पु¥याउन सक्ने अवस्था छैन । मनसुनी वर्षा कम भएर पनि ग्रामीण सडक सञ्चालन भएका छैनन्  । कच्ची सडकमा यातायातका साधन प्रयोग गर्न नपाउँदा तरकारी बारीमै कुहिने अवस्थामा पुगेको हो ।

लेकाली बस्तीमा स्कुस, करेला, घिरौंला, काँक्रा, लौका, गोलभेंडा, काउली, बन्दा खुर्सानी, बोडी, सिमीलगायत उत्पादन हुन्छ । बजार अभावले बारीमै कुहाउनुपरेको किसान गुनासो गर्छन् । जलजला–२ पूर्णगाउँका वीरबहादुर पुर्जाले बारीभरि करेला, स्कुस र खुर्सानी भएर पनि बजार पुर्‍याउन नसकेको बताए । ‘टिपेर बजार पुर्‍याउन सके राम्रै भाउ पाइन्थ्यो,’ उनले भने, ‘एक डोको तरकारी बेचेर फर्किन ३ दिन लाग्छ । बरु गाउँमै मजदुरी गर्दा बेस छ ।’

अहिले बजारमा पुर्‍याउन सके स्कुस ४० र करेला एक सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने उनले बताए । स्थानीय जानकी खत्रीको बारीभरि बर्खे तरकारी भएर पनि गाडी नचल्दा टिपेर बस्तुलाई खुवाउनुपरेको बताइन् । ‘बाटो मर्मत गरेपछि बर्खा पनि गाडी चल्छन् भनेर बारीभरि तरकारी लगाएँ,’ खत्रीले भनिन्, ‘तरकारी फल्ने बेलामा बाटो बन्द भयो । अहिले तरकारी कुहिएको छ ।’

लेकाली बस्तीमा पाइने तरकारी अर्गानिक हुन्छ । बजार पुर्‍याउन सके खोसाखोस हुन्छ । बजार पुर्‍याउन भने झन्झट छ । चिसो हावापानीमा फलेको विषादीरहित तरकारी स्वस्थकर र स्वादिलो हुने हुँदा बजारमा माग बढदो छ । ‘भारतबाट विषादीले रंगिएको तरकारी ल्याएर बिक्री गर्छन्,’ चापागाईंले भने, ‘हाम्रो तरकारी बल्लतल्ल बजार पुगिहाले पनि बिचौलियाले अठ्याइहाल्छन् ।’ बजारमा गोलभेंडाको मूल्य सय नाघदा आफूले ६०–७० भन्दा नपाएको गुनासो उनको छ ।

मोदीको देउपुर र जलजलाको लेकफाँटबाट बजार झरेर गाउँ फर्किन समस्या छ । एक दिनमा बजार पुगेर गाउँ फर्किन मुस्किल छ । वर्षामा चिप्लो बाटोले अर्को समस्या । हरियो तरकारीबाहेक आलु, लसुन, टिमुर, बेसार, अदुवालगायत नगदेबाली मात्रै नभएर सतुवा, लोठसल्लासहितका जडीबुटीको समेत व्यावसायिक खेती गर्न सकिन्छ ।

केही गर्छु भन्ने युवालाई उत्साह बढाउने गरी आम्दानी नहुँदा बस्ती पातलिँदै गएको स्थानीय बताउँछन्  । ‘यहाँ तरकारी मात्रै होइन कुनै कुराको पैसो पर्दैन,’ लेकफाँटका भुलबहादुर पुनले भने, ‘बाहिर निस्के पैसा अघि लाउनुपर्छ । पैसा नभएपछि युवा गाउँमा बसदैनन् ।’

VIEWS: 17