यसरी गरौ करेसामा तरकारी खेती

कोरोना सक्रमणको माहामारीको कारण आजभोलि हामि सबै मानिस घरमा नै छौ यो समयलाई करेसाबारीमा तरकारी खेती गर्ने काममा उपयोग गरी घरमा नै स्वथ तरकारी उत्पादन गर्न तपाई लाग्नुपर्दछ । यसका सम्बन्धमा तल चर्चा गरीएको छ । करेसाबारी तरकारी खेतीलाई घरेलु स्तरमा गरिने तरकारी खेती पनि भनिन्छ । आफ्नो घर वरिपरि रहेको थोरै जमीनलाई करेसाबारी भनिन्छ । करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन् । थोरै ठाउँमा थोरै जमिनमा घरवरपर गरिने खेती करेसाबारी तरकारी खेती हो । यसको उत्पादन घरमै खपत गरिन्छ । लगानी पनि त्यति धेरै लाग्दैन ।
यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुबैमा गरिन्छ । विहान बेलुकाको फुर्सदको समय यसमा लगाउन सकिन्छ । सहरी क्षेत्रमा बस्ने मानिसहरुका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो ।
करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ ।
जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ । यसबाट समयको वचत पनि हुन्छ । केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन् ।
करेसाबारीमा लगाउन सकिने तरकारी बालीहरु यस प्रकारका छन्
बकुल्ला, सिमी, गोलभेडा, प्याज, केराउ, स्विसचार्ड, धनिया, काउली, लसुन, गाजर, बन्दा, मुला, सलगम, ग्याँठकोभी, पिरो खुर्सानी, भाजी, भेडे खुर्सानी, पालुङ्गो, भण्टा, सोंप, चम्सुर आदि ।
नर्सरी सधै वेर्ना तयारी अवस्थामा रहनु पर्छ । एक खाले तरकारी टिपेर खाई सकेपछि, त्यस खाली ठाउँमा वेर्ना सारी हाल्नु पर्छ । यसो गर्दा कहिल्यै पनि तरकारीको खाँचो पर्दैन ।
ठाउँको छनौट
पहिले देखि नै करेसाबारी बनाई सकेको छ भने ठाउँको छनौट गर्नु पर्दैन र यदि करेसाबारी छैन भने त्यसको लागि ठाउँको छनौट गर्नु आवश्यक देखिन्छ । ठाउँको छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ । माटोको बनोट र प्रकार अनुसार मलको सिफारिस गर्नु पर्छ । यदि चिम्टाईलो र वलौटे माटो भएमा अन्य माटोमा भन्दा मल केहि बढी प्रयोग गर्नु पर्छ । तरकारी उत्पादनको लागि दोमट माटो धेरै राम्रो हुन्छ ।
पानी जम्ने ठाउँ करेसाबारीको लागि उपयूक्त हुँदैन ।
घाम लागेको वा पहारिलो ठाउँ हुनु पर्छ ।
सिंचाई सुबिधा उपलब्ध पुर्याउन सकिने ठाउँ हुनु पर्छ ।
पशुपंक्षीबाट जोगाउन बार लगाउन सकिने ठाउँको व्यवस्था हुनु पर्छ ।
करेसाबारीमा आउन र जानको लागि बाटोको राम्रो वन्दोवस्त हुनु पर्छ ।
मलको व्यवस्था
माटोमा मल विनाको कुनै पनि खेती गर्न असम्भव छ, यो थाहा भएको कुरा हो । करेसाबारीको लागि मल गाई वस्तु भएको घरमा गाठे मल र कम्पोष्ट मलले प्रयाप्त मात्रामा पुग्छ । यदि गाईवस्तु छैन भने त्यस्तो घरमा घर भित्र तथा घर वरपरको फोहर तथा घडेन्बाट पनि मल बनाई करेसाबारीको लागि प्रयोग गरिन्छ ।
बीउको व्यवस्था
गाउँ घरमा प्राय जसो स्थानीय बीउ नै प्रयोग गर्ने चलन छ । स्थानीय बीउ राम्रोसंग उत्पादन राम्रो गर्न सक्यो भने त्यसलले राम्रोसंग उत्पादन दिन सक्छ । तर अचेल उत्रत जातको बीउ प्रशस्त पाईन्छ । यस्ता बीउबाट तरकारी बाली लागाउन सके वढी उत्पादन दिने, छिटो पाक्ने र रोग कीराबाट सहन सक्ने क्षमता बढ्छ । यस्तो किसिमको बीउ लगाएता पनि पछि स्थानीय बीउको रुपमा उत्पादन गरे पनि हुन्छ । बीउहरु छिमेकीमा साटासाट गरे पनि हुन्छ, जसले गर्दा विभित्र किसिमका बीउ एउटै घरले उत्पादन गर्नु पर्ने झंझट हुदैन ।