मकवानपुरमा अब खुल्ला दूध बेच्न नपाइने

Thursday, April 25th, 2019 |

हेटौंडा, १२ वैशाख । मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयद्धारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले बैशाख १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौंडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो ।

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ ।

निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ ।

सरकारले गत असोज ४ गते निर्देशिका पारित गरेको थियो भने गत चैत ४ गतेबाट नै लागू हुने सो निर्देशिका मकवानपुर जिल्लामा विभिन्न कारणले लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ ।

यस सम्बन्धमा दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवसँग निर्देशिकाबारे बुझ्दा निर्देशिका लागू भएमा किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मुक्त हुने बताए ।

किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयंम किसानको गुनासो छ । यो जिल्लामा आधा दर्जन डेरी उद्योग सञ्चालनमा छन् ।
श्रोत रासस

VIEWS: 66