भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब
१९ असार, काठमाडौं भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको हो ।दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको हो ।
नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाई गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको छ ।
सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । असार ३ देखि कार्यन्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरुको भन्सार जाँच पास रोकिएको थियो ।
यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिए पछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए । सीमा नाकामा रोएिको तरकारी र फलफूलको मात्रा खासै ठूलो नरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हल्ला मात्र धेरै भएको बताउँदै आएको छ ।
श्रोत अनलाईन खबर