भदौ मै पाके सुन्तला !

Sunday, September 1st, 2019 |


स्याङजा भदौ १५
सामान्यतया नेपालमा सुन्तला मंसिरमा मात्र पाक्छ, तर, स्याङ्जामा भने भदौमै सुन्तला पाकेर पहेँलै भएका छन् ।
सुन्तलाका लागि उर्वर मानिएको स्याङजाका केही किसानले भदौमै पाकेर खान मिल्ने सुन्तला फलाएका छन् । पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका केही किसानले यस्ता सुन्तला बगैंचा र गमलामै फलाएका हुन् ।
बोटमै पाकेका जापानी उन्सु र धनकुटाको खोकु जातका सुन्तला स्याङ्जामा फलाइएका हो । यहाँ तीजका लागि बगैंचामा सुन्तला पाकेका छन। यी सुन्तलाको भाउ पनि राम्रो छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत सुन्तला जोन लागु भएपछि स्याङ्जामा साउनदेखि फागुनसम्मै बोटबाटै सुन्तला खान पाइने भएको छ ।
सुन्तला लगाउनका लागि जग्गा जमिन छैंन भनेर पनि चिन्ता लिनु नपर्ने भएको छ । घरको बरण्डा र आगनको प्रयोग गर्न सकिन्छ । अहिले फल्ने सुन्तला त गमलामै पनि रोप्न सकिन्छ । गमला, बाल्टी, ड्रम र बोरामा समेत रोप्न सकिने बोधराज अर्याल बताउँछन् ।
पुतलीबजार नगरपालिका १० थाराका कृष्णप्रसाद अर्याल र ११ का मायाटारीका बोधराज अर्याल, रामबन्धु अर्याल, अर्जुनचौपारी गाउँपालिकाका फणिनारायण अर्यालले भने ४÷५ महिना बाहेक वर्षभरी नै यसरी बोटकै ताजा सुन्तला खाने थालेको एक दशकभन्दा बढी भएको बताउँछन् ।
भदौमा पाक्ने जापानी÷अष्ट्रेलियन जातको उन्सु सुन्तला र असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु सुन्तला पहेला भएका हुन् । भदौमै खान सकिने उन्सु जातका सुन्तलाका दाना ठूलाठूला र रसिला हुन्छन् । सुन्तलाका लागि उर्वर मानिएको स्याङजामा वर्षको ८ महिना नै बोटबाटै टिपेर ताजा सुन्तला खान सक्नेगरी किसानहरु सुन्तला खेतीमा जुटेको बोधराज अर्यालले जानकारी दिए । स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 42