बाख्रा विज्ञहरुको सम्मेलन चितवनमा हुदै

Sunday, September 22nd, 2019 |

चितवन असोज ५

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयमा सो ससम्मेलन हुन लागेको हो ।

आयोजकका अनुसार नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायत १४ देशका प्रतिनिधिहरुको सम्मेलनमा सहभागीता रहने छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसिएशनका अध्यक्ष डा.वेथ मिलर, आगामी वर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा.सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालयका डीन प्रा.डा.यिङ्गजी झाङ, जापानको मिजो विश्वविद्यालयका प्रा.डा.योशिहाकी हायासी लगायतका विषेशज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीहरुले ३८ बढी मौखिक, ४२ वटा पोष्टरहरु गरी १०७ वटा कार्यपत्रहरु पेश गर्ने सम्मेलनका सदस्य सचिव डा। निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रामा लाग्ने पीपीआर रोग र त्यसको नियन्त्रण, बाख्रा पालन र भ्याक्सिन व्यवसायमा महिला सहभागीता जस्ता विषयमा विज्ञहरुबीच छलफल पनि हुने छ । सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको सम्मेलन संयोजकसमेत रहेकी कामु उपकुलपति प्रा.डा.शारदा थपलियाले जानकारी दिइन् ।

VIEWS: 272