बाँझो जमिनमा खेती गर्दा अनुदान पाइने

Tuesday, May 19th, 2020 |

स्याङ्जा ६ जेठ

स्याङजाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताए ।
गाउँघरमा खेतीयोग्य जमीन बाँझै रहेको र युवाहरु रोजगारीको खोजीमा विदेशिने परम्परालाई निरुत्साहित गर्न र गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएको उनको भनाई छ ।
आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको रु चार हजार, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र भाडामा लिएर धानखेती गर्नेलाई रु पाँच हजार अनुदान दिइने गाउँपालिकाले जनाएको छ । दलहन वा तरकारी खेती गर्नेलाई रु दुई हजार ५ सय अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । स्रोत ः रासस

VIEWS: 133