प्रदेश १ मा विषादी परीक्षण शुरु

Tuesday, July 9th, 2019 |

असार २४ विराटनगर प्रदेश १ सरकारले प्रदेश केन्द्रमा नै प्रयोगशाला स्थापना गरेर नाका र बजारमा आयातीत कृषिजन्य बस्तुको परीक्षण सुरु गरेको छ । सोमबारबाट विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको हो । केन्द्रीय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा कार्यरक्त प्राविधिकलाई तरकारी र फलफुलमा पाइने विषादी परीक्षण बारेमा जानकारी तथा प्रशिक्षण दिइ सकिएको बताए । किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन गर्ने काम सुरु भएको जानकारी दिए ।

प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । केही दिन अघिसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणका लागि झापाको बिर्तामोडमा नै लैजानुपर्ने बाध्यता रहेको थियो । ल्याबमा कार्यरत प्राविधिक सहायक घनश्याम बरालका अनुसार दुई वटा विषादीको समूहको परीक्षण गरिने बताए । उनले कारवामेट विषादीको समूह र अर्गानोफस्पेट विषादीको समूहको परीक्षण गरिने बताए । बजार वा नाकाबाट तरकारी र फलफुलको नमुना ल्याएर विषादीको परीक्षण गर्ने तयारी भएको उनको भनाई छ ।

बरालका अनुसारमा तरकारीमा ५ प्रकारका विषादीका समुह रहने भएता पनि दुई वटाको परीक्षण गरेर उपभोग्य गर्ने योग्य छ की छैन भन्ने तय गरिने छ । तरकारी र फलफुलको नाका तथा बजारबाट ल्याउने नमुनमा ३५ प्रतिशत भन्दा कम विषादीको मात्र पाइए मात्र उपभोग गर्ने सकिने उनले बताए । उनले भने ‘३५ देखि ४५ प्रतिशत विषादीको मात्र पाए केहि दिन प्लाण्ट क्वारेन्टाइनमा राखिने छ ।’

क्वारेन्टाइनमा ५ दिन निगरानीमा राखेर फेरी परीक्षण गरेपछि उपभोग्य गर्ने योग्य भएमात्र बजारमा बिक्री गर्ने दिने नभए नष्ट गर्ने उनले बताए । सो ल्याबमा दैनिक २० देखि ३० वटा तरकारी तथा फलफुलको नमुना परीक्षण गरिने बताइएको छ । प्राविधिक कर्मचारी थपिएर आए दैनिक ७० वटा गर्न सकिने बाली संरक्षण प्रयोगशाला प्रदेश १ को कार्यालय विराटनगरले जनाएको छ । सो प्रयोगशालामा यस अघि वालीमा लाग्ने रोग र किराको परीक्षण गर्नुको साथै जैविक विषादी परीक्षण उत्पादनको काम हुँदै आएको थियो । ६ जना प्राविधिक सहितको १० कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा चारजना मात्र प्राविधिक छन् ।
श्रोत अन्नपूर्ण पोष्ट

VIEWS: 34