पोल्ट्री एक्पो २०२० को तयारी पूरा

Monday, February 24th, 2020 |

काठमाडौँ
पोल्ट्री महासंघ नेपाल, मिडिया स्पेस सोलुसन नेपाल तथा फूचर एक्स इन्डियाको संयुक्त आयोजनामा हुन लागेको पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० को तयारी पूरा भएको छ । एक्पो अगामी शुक्रबारदेखि सुरु हुँदैछ । चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनीमार्ग भरतपुरमा आयोजना हुने तीनदिने एक्स्पोको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । ।
मुलुकमा भइरहेको पशुपक्षी पालन, प्रशोधन र बजारीकरणसम्बन्धी क्षेत्र समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिने र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने नै यो एक्पोको प्रमुख उद्देश्य अयोजक मध्येको एक नेपाल प्रोल्ट्री माहासंघ नेपालका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिए । यस्तै, अन्य विकसित देशमा अपनाइएका पोल्ट्रीजन्य उत्पादनका प्रविधि नेपालमा भित्र¥याउन उत्पादक, वितरक कम्पनी एवं नेपाली उद्यमी र कृषकबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियासमेत एक्पोमा अयोजना हुने बिष्टले बताए ।
एक्स्पोमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायिकीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगका लागि आवश्यक नवीनतम प्रविधिसमेत समावेश हुने महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । मिश्रका अनुसार ‘यो अवसरले नेपाली पोल्ट्री कृषकद्वारा उत्पादित वस्तुको कम लागतमा अन्तर्राष्ट्रियस्तरको पोल्ट्री उत्पादन हुने अपेक्षा गरिएको छ ।
एक्स्पोमा दुई सयभन्दा बढी स्टलमार्फत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इजरायल, बंगलादेशका कम्पनीले विकास गरेका नवीन प्रविधि तथा उत्पादनबारे जानकारी लिन सकिने आयोजकले जानकारी दिएका छन् । एक्स्पोमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्य रहेको छ। यस्तै, नेपाल भेटरिनरी काउन्सिल, नेपाल भेटेरिनरी एसोसियसन, नेपाल औषधि उत्पादक संघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल पशुपक्षी औषधि व्यवसायी संघ, नेपाल पशुपक्षी औषधि पैठारीकर्ता संघ, नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसियसन, नेपाल लाइभस्टक हेल्थ सर्भिसेज टेक्निसियन एसोसियसन, नेपाल कखुरा व्यवसायी मञ्च र नेपाल कुखुरा बजार व्यवस्थापन संघको सहकार्य रहेको छ।

मुलुकको कूल गार्हस्थ उत्पादनमा करिब चार प्रतिशतले योगदान गर्ने नेपाली पोल्ट्री क्षेत्रमा प्रत्यक्ष रुपमा डेढ लाखले र अप्रत्यक्ष रुपमा दुई लाख व्यक्तिले रोजगारी पाएका छन् । सन् २०१७।१८ सम्म आइपुग्दा निजी क्षेत्रको साढे ८६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको रहेको पोल्ट्री माहासंघ संग तथ्यांक छ ।

VIEWS: 11