नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघको करोड रुपैयाँको अदुवा निकासी नहुँदा किसान मर्कामा

Friday, January 26th, 2018 |

नेपाली अदुवाको निकासीमा भारतले फेरि रोक लगाएको छ । भारतमा पुग्ने चीनका अदुवामा विषादी भेटिएको भन्दै उसले यहाँको अदुवा पनि रोकेको हो । दुई सातादेखि निकासी रोकिँदा किसानहरू मर्कामा परेका छन् । यसबेला अदुवा उत्पादनको मुख्य समय हो । तर, मुख्य सिजनमै बजार नपाएपछि कृषकहरूले बारीमै र व्यापारीहरूले गोदाममा थन्काएका छन् ।


सल्यानको माल्नेटामा अदुवा नबिकेपछि सुठो बनाएर सुकाइँदै ।
कतिपयले बोरा र गोदाममा भण्डारण गरी राखेको अदुवा कुहिन थालेको छ । केहीले बारीबाटै झिकेका छैनन् । बारीबाट अदुवा खनेकाहरूलाई भण्डारणको समस्या छ । सबैलाई पुग्ने गोदामको अभाव पनि छ । एक तथ्यांकअनुसार मकवानपुरबाटै मात्र ९५ प्रतिशत अदुवा भारत निकासीहुने गर्छ ।

मकवानपुरस्थित नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले करोड रुपैयाँको अदुवा निकासी नहुँदा किसान मर्कामा परेको जनाएको छ । संघको मकवानपुर अध्यक्ष गोपाल गौतमले दुई सातादेखि निकासी रोकिएकाले व्यापारी र कृषक दुवै समस्यामा परेको बताए । उनका अनुसार मकवानपुरमा मात्रै वार्षिक करिब ५ देखि ७ हजार टन अदुवा उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित ९५ प्रतिशत अदुवा भारत निकासी हुने गरेको उनले गौतमले बताए । मकवानपुरस्थित कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले भारतले पुसको अन्तिम सातादेखि अदुवा निर्यातमा रोक लगाएको जनाए । उनले भने, ‘भारतमा आउने चीनका अदुवामा विषादी भेटिएको भन्दै यताको पनि रोकिदिएको चर्चा छ ।’ सरकारले अदुवालाई निकासीजन्य कृषि बालीमा पहिलो नम्बरमा राखे पनि यसमा सकारात्मक भूमिका निर्वाह गरेको छैन ।
भारतमा पनि विगतमा भन्दा यो वर्ष अदुवाको उत्पादन बढी भएको छ । ‘आफ्नो देशको उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले भारत सरकारले विभिन्न बहाना बनाई अदुवा निर्यातमा रोक लगाउने गरेको हो,’ स्रोतले भन्यो ।

अदुवा उत्पादनको हिसाबले मकवानपुर देशकै तेस्रो नम्बरमापर्छ । हाल किसानलाई अदुवा भण्डारण गर्ने ठाउँको अभाव छ । कतिपय किसानको अदुवा बारीमै कुहिएर जाने अवस्था छ ।

नेपाली बजारको मूल्य निर्धारण दिल्लीले गर्ने गरेको गौतमले बताए । अदुवा प्रतिकेजी २५ रुपैयाँमा व्यापारीले कृषकसँग खरिद गर्ने गरेका थिए । हाल खरिद गर्न पनि छाडेका छन् । मकवानपुरको नामटार, सुकौरा, बूढीचौर, गढी, आमभन्ज्याङ, मनहरी, पदमपोखरी, हटिया, हर्नामाडी, चुरियामाई, शिखरपुर, ठिंगन र बेतिनी अदुवा उत्पादन हुने मुख्य स्थानहरू हुन् । यहाँका करिब तीन हजार घरपरिवार अदुवा खेती गर्छन् । नगदे बालीका रूपमा विकास हुँदै गएको अदुवा खेती मकवानपुरका दुर्गम गाउँका कृषकहरूले व्यावसायिक रूपमा गर्दै आएका छन्

स्रोत कान्तिपुर

VIEWS: 41