दुई युवाले टिस्यूकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन

Friday, July 5th, 2019 |

असार २० टीकापुर : टीकापुरमा टिस्यूकल्चर प्रविधिबाट केराका बेर्ना उत्पादन सुरु भएको छ। केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि टीकापुरका दुई युवाले टिस्यूकल्चर प्रविधिबाट केराका बेर्ना उत्पादन सुरु गरेका हुन्।

बिउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन सुरु गरेका हुन्। भारतको गुजरातस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट टिस्यूकल्चर प्रविधिसम्बन्धी तालिम लिएपछि उनीहरूले केराको बेर्ना उत्पादन सुरु गरेका हुन्।

‘गत वर्ष हामीले गुजरातको एबीसी कम्पनीमा गएर तालिम लिएपछि केराको बेर्ना उत्पादन सुरु गर्‍यौं’, धामीले भने, ‘ग्रिनहाउस निर्माण, हाइटेक नर्सरी निर्माण, बोटको उपचार पद्धतिबारे तालिम लिएपछि सजिलो भएको छ।’

ललितपुरमा रहेको जी सेभेन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको छ।

नर्सरीबाट टिस्यूकल्चर प्रविधिमा जिनाइन र विलेयम जातका केराको बेर्ना, सुनकागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन्। ल्याबबाट तन्तु प्रजनन् गरेर बिरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित केराका झण्डै ३ लाख बेर्ना बिक्री गरिएको कृषक देवीराम कोइरालाले बताए।

‘अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नामा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनाशको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गएको छ’, कोइरालाले भने, ‘गत वर्ष ७० हजार बेर्ना बिक्री गरेकोमा यस वर्ष हामीले झण्डै ३ लाखभन्दा बढी बिरुवा बिक्री गर्‍यौं।’

कैलाली र कञ्चनपुरमा केराखेती विस्तार भइरहेको छ। बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरूले टिस्यूकल्चर प्रविधिबाट बेर्ना उत्पादन थालेको कोइरालाले बताए। टिस्यूकल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा रोपेपछि बोट पहिलो हुँदै जाने, गुवो कुहिने र बोट सुक्दै जानेलगायत रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो।

नर्सरीले उत्पादन गरिरहेका विलयम र जिनाइल जातका केरा कम समयमा कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउँछन्। ‘टिस्यूकल्चर बिरुवाबाट कम समयमा कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौं’, साहले भने, ‘सकर बिरुवाबाट पनि नहुने होइन, तर कृषक पछिल्लो समय टिस्यूकल्चरमा आकर्षित भइरहेका छन्।’

आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानीजमरा गुलरिया सिँचाइ आयोजनाअन्र्तगतको कृषि एकाईले सहयोग गर्दै आएको छ।

आयोजनाले कृषकका लागि चाहिने बिउ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि कृषक केराखेतीतर्फ आकर्षित हुँदै आएका छन्। टीकापुर क्षेत्रमा मात्रै झण्डै ५ सय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ।

श्रोत अन्नपूर्ण पोष्ट

VIEWS: 38