दशै पछि तरकारीको मुल्यमा सुधार हुदै

बुधबार २९ असोज
दसैंको सुरुतामा उकालो लागेको तरकारी मूल्य विस्तारै सामान्य बन्दै गएको छ। विशेषगरी प्याजको मूल्यले दसैंमा निकै चर्चा पायो। असोज १२ मा भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि प्याजबिनाको दसैं बन्ने अनुमान गरिए पनि त्यो अभाव धेरै दिन रहेन। भारत सरकारको निर्णयसँगै व्यावसायीले चीनबाट प्याज आयात गरे। भारतले निर्यात रोकेपछि कालीमाटी बजारमा चीनबाट २२ टन प्याज भित्रिएको कालीमाटी फलफूल तथा बजार विकास समितिका सूचना अधिकृत बिनय श्रेष्ठले जानकारी दिए।
भारत सरकारले निर्यातमा रोक लगाउने निर्णय गरे पनि निर्णयको चौथो दिनबाट साबिककै परिमाणमा भारतबाट प्याज आउन सुरु गरेको थियो। ‘प्याजको अभाव हुने त्रास सुरुदेखिनै भए पनि केही दिन स्टक र चीनबाट आएको प्याजले माग धान्यो,’ सूचना अधिकृत श्रेष्ठले भने, ‘पछि दैनिक ५५–६० टनको अनुपातमा प्याज भारतबाट आइरहेको छ।’
कालीमाटी फलफूल तथा तरकारी बजारमा गत असोज १ यता १६ सय ८२ टन प्याज भित्रिएको तथ्यांक छ। जुन २२ टन चीन, १५ सय ३५ भारत र बाँकी आन्तरिक उत्पादन रहेको श्रेष्ठले बताए। प्याज पर्याप्त मात्रामा भित्रिए पनि मूल्य भने सामान्य मात्र घटेको छ। भारतबाट महँगो आयात भएको र भारतमा मूल्य नघट्दासम्म मूल्य घट्ने सम्भावना कम रहेको उनले बताए। अहिले कालीमाटी बजारमा प्याजको मूल्य प्रतिकिलो एक सय २५ रुपैयाँ छ।
कालीमाटी बजारमा भित्रने तरकारी तथा फलफूलको ६० देखि ६५ प्रतिशत स्रोत आन्तरिक उत्पादन हो। श्रेष्ठले आन्तरिक उत्पादनले धान्दै आएको हरियो तरकारीको उत्पादन बढ्न थालेकोले मूल्य अब विस्तारै घट्दै जाने बताए।
आयातमा निर्भर रहनुपर्ने अन्य तरकारीको मूल्य भने केही महँगो छ। भारतबाट प्याज, आलु, फलफूल, माछा, कागती, ठूलो गोलभेंडा लगायत आयात हुँदै आएको छ। कालीमाटी तरकारी बजारमा असोजको यो समयमा भित्रिएको पाँच हजार दुई सय ८४ टन आलुमा तीन हजार सात सय ६ टन भारतबाट आयात गरिएको तथ्यांक छ।
त्यस्तै, फर्सी एक सय १३ टन आयात भएकोमा ८२, कागती दुई सय ८३ टन आयात भएकोमा दुई सय ८०, लसुन एक सय २१ टन आयात भएकोमा ८० टन चीनबाट, माछा चार सय ५४ टन आयात भएकोमा तीन सय पाँच भारत र केरा एक सय पाँच टन आएकोमा ६९ टन भारतबाट आयात भएको बजार विकास समितिको तथ्यांक छ।
पछिल्लो एक महिनाको तुलनामा तरकारी सस्तो देखिए पनि गत वर्षको यो समयभन्दा अहिलेको तरकारी बजार ५० देखी शतप्रतिशत महँगो छ। श्रेष्ठले मौसम अनुसार हरियो सागपातको मूल्य घटे पनि अन्यमा त्यति धेरै घट्न सक्ने अवस्था नरहेको बताए।