थामी भाषामा पहिलो टेलिभिजन कार्यक्रम संचालन हुँदै

Monday, June 11th, 2018 |

२८ जेठ, काठमाण्डौँ । अतिसिमान्तकृत थामी समुदायको मातृभाषामा पहिलो पटक टेलिभिजन कार्यक्रम संचालनमा आउने भएको छ ।
राजधानी काठमाण्डौँको अनामनगर स्थित ईन्डिजेनियस् टेलिभिजन मार्फत प्रत्येक हप्ता निको सारे नामक थामी भाषाको कार्यक्रम प्रसारण हुन लागेको हो ।

उक्त कार्यक्रमको मंगलवार टेलिभिजनको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रम उत्पादक तथा प्रस्तोता बिकेस थामीले निको सारे नामक भाषिक कार्यक्रमलाई दिगो र प्रभावकारी रुपमा संचालन गर्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियाको माध्यमवाट आवश्यक राय, सल्लाहा लिँदै कार्यक्रमको उद्घाटन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार थामी समुदायको ऐतिहाँसिक, साँस्कृतिक तथा भाषिक पहिचानलाई संरक्षण गर्दै समुदायको हक, हित र अधिकारको पक्षमा वकालत गर्न कार्यक्रम संचालनमा ल्याउन लागिएको हो । कार्यक्रम प्रत्येक हप्ताको बिहिवार बेलुका साँढे सात देखि ८ बजेसम्म प्रत्यक्ष प्रसारण हुनेछ भने पुन प्रसारण पनि हेर्न सकिनेछ । नेपाल थामी समाजका सचिव बिकेस थामीको नेतृत्वमा रहने टोलीले कार्यक्रमको उत्पादन तथा संचालन गर्नेछ ।

यसअघि थामी भाषामा रेडियो कार्यक्रम, पत्रपत्रिका प्रसारण प्रकाशन भैसकेपनि टेलिभिजन कार्यक्रम पहिलो पटक संचालन हुन लागेको हो ।

VIEWS: 13