तरकारी बेचेरै वार्षिक ३० लाख रुपैया कमाउछन् नुवाकोटका सोमबहादुर तामाङ
श्रावण २४ नुवाकोट : पैसा कमाउनको लागी नै भनेर विदेश जान पर्दैन भन्ने उदाहरण हुन् नुवाकोटको पश्चिमी भेग फासाङका सोमबहादुर तामाङ। हाल उनले सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिमा रहेको म्यागङ गाउँपालिका–३ मा १२ रोपनी जमिनमा गोलभेंडा खेती गरिरहेका छन्। फासाङ गाउँ आलु, रायोको साग, हरियो चियापत्ती, भूइँ स्याउ, किम्ताङको चियासँगै उनको तरकारीखेतीले चर्चित छ। तामाङले तरकारी बेचेर वार्षिक करिब ३० लाख रुपैयाँ आम्दानी गर्छन्। ५२ वर्षको उमेरमा युवा जोशले कृषि पेशामा लागेका उनी तरकारी बिक्रीका लागि त्रिशुली बजारसम्म पुग्छन्।
तामाङका छोरा कुबेतमा काम गर्छन्। उनका अनुसार छोराले वर्षमा ९ लाख पठाउँछन्। तर, आफूले वर्षभरि तरकारी खेतीबाट करिब ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको तामाङले बताए।
यसको साथै उनले काउली, बन्दाकोभी, मुला, साग, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। ८० हजार रुपैयाँ लगानीबाट तरकारी खेती सुरु गरेका सोमबहादुरले हालको समय सम्ममा करिब ६० लाख रुपैयाँ सम्म लगानी गरि सकेका छन् । उनले वर्षामा बाटोको समस्याले बजारको समस्या हुने भए पनि अरु समयमा बजार व्यवस्थापनमा खासै समस्या नरहेको बताए।
‘पहिला खेती सुरु गर्ने समयमा बीउविजन छनोटमा समस्या हुने गरेको थियो’, उनले भने, ‘अहिले कहाँ कस्तो बीउविजन पाइन्छ र के गरेर स्याहार गर्नुपर्छ राम्रो अनुभव भएकाले खेती गर्न समस्या छैन।’ आगामी वर्ष थप जमिनमा तरकारी खेती गर्ने योजना रहेको उनले सुनाए। तामाङले उत्पादन गरेको तरकारीको मुख्य बजार नुवाकोट, धादिङ, रसुवा तथा काठमाडौं हो। उनी भन्छन् ५ १० लाख रुपैया कमाउनलाई विदेश जान पदैैन सोदेश मै आफ्नो माटोमा पसिना बगाए पनि विदेशको भन्दा राम्रो कमाई हुन्छ ।