तरकारी खेती बाटै छोराछोरीलाई उच्च शिक्षा
श्रावण २८ रुकुम : मेरो नाम वीरभान खड्का हो । मेरो घर रुकुम जिल्लाको सानी भेरी गाउँपालिकामा पर्दछ । मैले लामो समयदेखि बेमौसमी तरकारी तथा बीउ उत्पादन गर्दै आऐको छु । मेलै विगत १६ वर्ष देखि तरकारी उत्पाद गर्दै आएको छु भने मैले अन्य व्यक्तिलाई तरकारी उत्पादन गर्न आवश्यक शिक्षा समेत दिँदै आएको छु ।
तरकारी व्यवसायबाट थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि मैले यो पेसामा सक्रिय भएर काम गर्दै आएको छु । पहिले—पहिले काउलीको बीउसमेत उत्पादन गर्ने गरेको थिए र तीनवर्षदेखि भने ताजा तरकारी मात्रै उत्पादन गर्ने गरेको छु । अहिले मेरो खेतबारीमा हरियो तरकारी प्रशस्त मात्रामा छ।
मैले तरकारी उत्पाद गर्दा कुनै पनि विषादी प्रयोग नगरी अर्गानिक नै उत्पादन गर्ने गरेको छु । कुनै पनि विषादीको प्रयोग नगर्ने भएकाले आफ्नो तरकारी सहज रूपमा बिक्री हुन्छ । ‘ उत्पादन गर्ने सबै तरकारीमा कुनै पनि विषादी प्रयोग गर्दिन त्यसैले पनि सबैले मन पराउँछन्।’ तरकारीमा कुनै रोग लागेपछि त्यसलाई रोकथाप गर्न स्थानीयस्तरमा पाइने जडीबुटीबाट औषधि बनाएर प्रयोग गर्ने गरेको छु।
तरकारी उत्पादनबाट आएको रकमले आफ्ना दुई छोराछोरीलाई पढाउनेदेखि सम्पूर्ण खर्च चलाउँदै आएको छु । ‘मेरो एक छोरी, एक छोरा छन्, छोरीले स्टाफनर्स सकेर अहिले काम गर्न थालेकी छन्’, ‘छोराले अहिले एचए पढ्दै छ अब यो वर्ष सक्छ, यो सबै खर्च यहीँ तरकारी बिक्री गरेर धानेको छु । तरकारी बिक्री गरेर आफूले एक सिजनमा साढे एकदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु ।
अहिले मेरो बारीमा डेबी टू जातको काउली, आलु, प्याज, रायोको साग, हरियो खुर्सानीलगायतका तरकारी छन्। उत्पादन गरेको ताजा तरकारी प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्ने गरेको छु । आफूले उत्पादन गरेको तरकारी पहिले डोकामा बोकेर गाउँमा पुगेर बिक्री गर्ने गरे पनि अहिले घरनजिकैको सिम्ली बजारमा बिक्री हुने गरेको छ ।
बारीमा उत्पादन गरेको तरकारी सहजै बिक्री हुने भए पनि गाउँका अन्य किसानलाई भने बजार अभाव भएको छ। हामीले गाउँमा अर्गानिक तरकारी उत्पादन गर्न कृषि समूहसमेत गठन गरेको छौ । मैले गाउँका अन्य किसानलाई अर्गानिक तरकारी खेती सम्बन्धी आवश्यक तालिमसमेत दिर्दै आएको छु । समूहका सबै सदस्यको तरकारी उत्पादन गर्ने लक्ष्य भए पनि संकलन केन्द्र र बजार अभावले सोचेजस्तो तरकारी उत्पादन गर्न सकेको छैन । आफूहरूले उत्पादन गरेको तरकारीको बजार व्यवस्था गरिदिन स्थानीय तथा प्रदेश सरकारसँग आग्रह गरे पनि कुनै किसिमको सुनुवाई भएको छैन । सरकारले राम्रो व्यवस्थापन गरीदिने हो भने अर्गानिक तरकारी उत्पादन गरेर जिल्लाका सबै ठाउँमा पुर्याउने लक्ष्य छ ।