केरालाई बहुआयामिक फलको रुपमा परिचय गराएका हमाल
कैलाली बैशाख ११ : नेपाली परम्परागत सोचमा कृषि भन्ने वित्तिकै धुलो मैलोमा काम गर्ने, कम आम्दानी हुने कामको रुपमा चिनिन्छ । तर यो सोच पछिल्लो समय गलत साबित हुदै आएको छ, कृषि क्षेत्र एक बहुआयामिक आम्दानि दिने नयाँ नयाँ कृषि उपज उत्पादन हुने र मानिसको जिवन जिउने मुख्य आधार हो भन्ने साबित भैसकेको छ । पहिलेका बुढाबुढीको भनाइनै छ खेतीमा तरकारी जागिरमा सरकारी यसै व्यवसायलाई अङ्गालेर राम्रो नाम र दाम लिने किसानहरु धेरै छन् । त्यसै मध्येका एक हुन् टिकापुर कैलालीका कालु हमाल । उनले १० विघाह जमिनमा केरा खेती सँगै केरालाई नेपालमा नै विल्कुलै नयाँ र बहुआयामिक फलको रुपमा परिचय गराउँदै केराबाट ४० भन्दा धेरै परिकारहरु बनाई फार्मलाई पूर्ण रुपमा पर्यटकिय केन्द्रको रुपमा विकास गरेका छन् । कृषि विषयमा नै स्नातक पास गरेका उनले कृषि पेशालाई नै अंगालेर नेपालमा नै एक नमुना उद्यमिको रुपमा परिचय स्थापित गरेका छन् ।
खोलाको किनार जहाँ गाई वस्तु पनि चर्दैन थिए त्यस ठाउँमा उनले केरा खेती र रिसोर्ट सञ्चालन गरेका छन् । उनको त्यो रिर्सार्टमा केराको जुस, रक्सी, रोटी, पकौडा, खीर, मःम, अचार, सलाद, टिकिया, तरकारी, अम्लेट, चिप्स, सेकुवा लगाएत ४० प्रकारको केराको परिकार बन्ने गरेको छ । केराको परिकारको स्वाद लिन देशभरिका मानिसहरु उनको फार्ममा आउने गरेका छन् । १५ वर्ष पहिले सात कट्ठा जमिनबाट व्यवसाय सुरु गरेका हमालले २०७२ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत प्राप्त गरेका छन् ।
फार्म सहित सञ्चालन भएको उनको रिसोर्टमा हाल ६० लाख रुपैँया भन्दा बढी लगानी भएको हमालको दावी छ । हाल सम्म सरकारबाट कुनै पनि किसिमको अनुदान प्राप्त नगरेका हमाल,अनुदान लिन धेरै गाह्रो हुने भएकाले अनुदान लिने प्रयास नै नगरेको बताए । १० विगाह जमिनमा लगाइएको सबै केरा उनको त्यही रिसार्टमा खपत हुन्छ , कहिलेकाहि नपुग्दा बाहिरबाट समेत मगाउनुपरेको हमालले जानकारी दिए । उनको सो रिसोर्टमा भलिबल मैदान, पिकनिक स्पोट, बोटिङ, बाल उद्यानको पनि व्यवस्था गरेका कारण ग्राहकको आकर्षण बढेको हो । हमालको बगानमा हाल ७ भन्दा बढी जातका केरा छन् ।
उनको रिसोर्टमा ४० जनाले रोजगारी पाएका छन्, त्यसमध्ये अधिकांश महिला नै छन् । उनले आफ्नो रिसोर्टमा केराको परिकार बनाउन इच्छुक व्यक्तिलाई निःशुल्क ७ दिने तालिम समेत दिदै आएको उनी वताउँछन् ।