किसान खुसी हुदै जग्गा बाँझो नराख्ने अभियानमा सघाँउदै

Wednesday, May 13th, 2020 |

तनहँु ३१ बैशाख

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले शुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले खुसी हुदै साथ दिएका छन् ।
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित हुदै यो अभियानमा साथ दिन थालेका छन् ।
तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती शुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण पौडेलले साढे तीन रोपनी क्षेत्रफलमा शनिबारदेखि तरकारी खेती शुरु गर्नुभएको छ ।
पर्याप्त सिँचाइको अभावमा विगत १७ वर्षदेखि बाँझो रहेको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने पौडेलले बताए । “अहिले सिँचाइको सुविधासमेत पुगेको र किसानलाई प्रोत्साहित गर्ने नीतिले तरकारी खेती गर्ने प्रेरणा मिलेको पौडेलको भनाइ छ ।
सोही वडाको लालिममा केही किसानले समूह गठन गरी सामूहिक तरकारी खेती शुरु गरेको अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिए ।उक्त ठाउँमा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती गरिनेछ । बन्दाबन्दी लम्बिँदै जाँदा कृषि उत्पादन नभएर भोकमरीको अवस्था आउन सक्ने भएकाले बाँझो जग्गाको सदुपयोग गर्दै तरकारी खेती शुरु गरिएको महत बताए ।

उनका अनुसार उक्त ठाउँमा छोटो समयमा उत्पादन हुने तरकारी खेती गरिनेछ । उहाँका अनुसार काँक्रो, भिण्डी, बोडीलगायतको खेती गर्नका लागि किसानले जग्गा सम्याउने काम गरिरहेका छन् । “वडा कार्यालयले तरकारी खेतीका लागि अनुदानको व्यवस्था समेत मिलाएको छ”, महतले भन्नुभयो, “सामूहिक तरकारी खेतीबाट किसान उत्साहित छन् ।”

वडाध्यक्ष रेग्मीका अनुसार तीन रोपनी भन्दा कम क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई वडाको तर्फबाट निःशुल्क रुपमा बीउबिजनको व्यवस्था गरिनेछ भने तीन रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने किसान वा समूहलाई कूल लगानीको ५० प्रतिशत अनुदान दिइनेछ ।
“घरआँगनको जग्गा बाँझो राख्ने अनि बजारबाट तरकारी ल्याएर उपभोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तरकारी उत्पादनमा जोड दिइएको उनले बताए । यसले अन्य किसान पनि तरकारी खेतीतर्फ आकर्षित हुने विश्वास नगरपालिकाले लिएको छ ।

कृषिजन्य उत्पादनको क्रममा वडाभित्रकै श्रमिक तथा मजदुरलाई काममा खटाइनेछ । बन्दाबन्दीबाट प्रभावित भएर राहत बुझेका श्रमिक तथा मजदुरलाई कृषिकर्ममा खटाउने तयारी गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत बुझेकाहरुलाई वडाले विकास निर्माणका काममा खटाउन शुरु गरिसकेको छ ।

जसअनुसार पहिलो चरणमा सडकका नाला मर्मत तथा सरसफाईमा मजदुर खटाइएको छ । वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । ती व्यक्तिलाई कृषिकर्म तथा विकास निर्माणका काममा खटाइनेछ ।

सामूहिक तरकारी खेतीको अभियानले वडालाई तरकारीमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । उत्पादित तरकारीको बजारीकरणका लागि पनि वडाले सहजीकरण गर्ने रेग्मीले जानकारी दिनुभयो । वडाले साना किसान सहकारी संस्थासँगको सहकार्यमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागेको छ ।

“उत्पादित तरकारीको बजारमा कुनै समस्या हुनेछैन, खैरेनीटार, दुलेगौँडा बजार नजिकै भएकाले पनि यहाँ उत्पादित कृषि उपजले सहजै बजार पाउनेछ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित कृषि उपज सामग्री खेर फाल्नुपर्ने अवस्था विगतमा पनि थिएन ।” वडालाई आलुमा आत्मनिर्भर बनाउन वडा कार्यालयले विगत वर्षदेखि नै किसानलाई अनुदानको व्यवस्था गर्दै आएको छ ।

VIEWS: 30