किसानले अझै पाएनन् डीएपी मल
साउन १६ कपिलवस्तु
कपिलवस्तुका किसानले मल बिनै रोपाइँ सकेका छन्, खेती गर्ने समयमा डीएपी मल नभए पनि किसानले धानको बिउ जोगाउन मल नहाली रोपाइँ गरेका थिए ।
मल नराखेपछि उत्पादन कम हुने चिन्ता किसानहरूमा छ । ‘धानखेतीका लागि अतिआवश्यक डीएपी मल नपाउँदा बाध्यभइ मलखाद्य बिनै रोपाइँ गरिरहेका छौं’, कपिलवस्तु नगरपालिका–२ बगरदवाका कृषक दिपकुमार अग्रहरीले भने। पटक–पटक मलका लागि धाउँदा पनि मलखाद्य नपाएपछि डीएपी मल बिनै रोपाइँ गरेका अग्रहरी ‘यस वर्ष मलखाद्य अभावले उत्पादन नै घट्ने भयो भन्नेमा चिन्तित छन् ।
कपिलवस्तुका अधिकांश कृषकको समस्या उस्तै छ। ‘रोपाइँका लागि खेत तयार छ तर खेतमा हाल्ने मल छैन, यशोधरा गाउँपालिका वडा–२ का शैलेश पाण्डेयका अनुसार आकाशे पानीमा भर पर्नुपर्ने कृषकलाई बल्लतल्ल परेको पानीमा रोपाइँ गर्न खोज्दा मलखाद अभावले झा समस्या थपिएको छ ।
जिल्लामा धानखेतीका लागि यो मौसममा डीएपी मल पाँच हजार चार सय ५० मेट्रिक टनको आवश्यकता पर्छ। तर कृषि सामाग्री कम्पनी लिमिटेड तौलिहवाको गोदाममा ५० बोरा मात्रै डीएपी मलखाद छ। यसै गरी १५ हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्छ तर यहाँको गोदाममा केबल तीन सय ७८ मेट्रिक टन युरिया छ। मलखाद्य ल्याउन केन्द्रमा पहल गरिरहेको कृषि सामग्री कम्पनी उप शाखाका प्रमुख दिनेश शर्माले बताए। कार्यालय प्रमुख शर्माका अनुसार गोदाममा हाल तीन सय ७८ मेट्रिक टन युरिया छ। अहिले कृषकलाई युरियाभन्दा पनि डीएपीको खाँचो छ।
सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सहकारी संस्थालाई मल उपलब्ध गराउँछ । डीएपीको समस्या हुँदा सीमा क्षेत्रका किसान भारतीय बजारबाट लुकीछिपी ल्याएको मल पनि सीमा क्षेत्रका सुरक्षाकर्मीले खोसी दिने गरेको यशोधरा गाउँपालिका –२ का कल्लु यादवले बताए । ‘रोपाइँका बेला आवश्यकपर्ने डीएपी रोपाइँको २१ दिनसम्म भए पनि काम चल्थ्यो तर त्यो अवधिसम्म पनि पाइएला जस्तो छैन’, यादवले भने। कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफलमध्ये यस वर्ष जिल्लामा ७२ हजार हेक्टर क्षेत्रफलमा कृषकले धानखेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रामगोविन्द आर्याले बताए।
अन्नपूर्ण पोष्टबाट