काठमाडौँमा खुल्यो मकैको परिकार पाइने रष्टुरेन्ट

काठमाडौँ
चैत्र २६
सामान्यतया तपाई मकैको परिकार भन्दा के सम्झनु हुन्छ रु पोलेको वा भुटेको मकै अनि त्यसको पीठोबाट बन्ने ढिँडो वा रोटी । तर राजधानीको चाबहिलमा तपाईले सोचे भन्दा फरक नयाँ नयाँ किसिमका मकैका परिकारहरु पाइने रेष्टुरेन्ट खुलेको छ ।
मःम ,चाउमिन आदी जस्ता एकनाशको परिकारबाट दिक्क भएकाहरुलाई नयाँपन र मकैको स्वस्थकर परिकार खुवाउने उद्देश्यले धनुकुटाका दुर्गा बहादुर सुवेदी र मोरङका राजकुमार अधिकारी मिलेर चाबहिलमा मिस्टर कर्न नामबाट मकैका थुप्रै परिकार पाइने रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
अधिकारी पेशाले सिभिल इन्जिनीयर हुन भने सुवेदी पाँच वर्ष विदेशमा काम गरी फर्किएका हुन् । उनीहरु दुवै हाल महालक्ष्मी ६ ललितपुरमा बस्दै आएका छन् ।
‘नेपालमै पहिलोपटक नेपाली उत्पादन प्रवद्र्धन गर्ने उदेश्यले आफुहरुले यो रेष्टुरेन्टको सुरुवात गरेका उनिहरु बताउँछन् । हामी एउटै किसिमका परिकारबाट वाक्क पनि भइरहेका छौँ ।’, उनीहरु भन्छन्, ‘हाम्रा पूर्वजहरुले रुचाउनुभएको ढिँडो आजको पुस्ताले पनि रुचाउँछ । मकैलाई ढिँडोमा मात्र सिमित नगरेर फैलाउनु पनि आवश्यक भएको छ । मधुमेहका बिरामी पनि दिनप्रतिदिन बढिरहेका छन्, उनीहरुका लागि यी परिकार अर्गानिक हुनेछन् ।’
कामना विकास बैंक रहेको घरको अन्डर ग्राउण्डमा अवस्थित मिस्टर कर्न रेष्टुरेन्टमा विशेष गरी मम, चाउमिन, फ्राइड राईस, मकैको भात, मकैको ढिँडो, अमेरिकन कार्न लगायतका थुप्रै परिकारको स्वाद चाख्न पाइन्छ ।
‘यहाँ मकैको सुप, तरकारी, अचार पनि बनाइन्छ । बिहान उठेदेखि बेलुका सुत्दासम्म सामान्य रुपमा खाइने परिकार सबै पाइन्छ भन्दा फरक पर्दैन। जुन स्वास्थकर छ।’, उनीहरु भन्छन्,‘ अहिले मड्का चिया राखेका छौँ । अब छिट्टै मकैको चिया ल्याउने तयारी गरिरहेका छौँ। मकैको चिया चाहीँ हर्वल टि जस्तो हुने उनिहरुको भनाइ छ । यसले रोगसँग लड्ने शक्ति दिन्छ । मकैको घोगामा हुने जुँगाबाट चिया बन्ने छ ।’
आइतबारबाट रेष्टुरेन्ट सुरुवात गरेका सुवेदी र अधिकारीको योजना भने सानो छैन। उनीहरु काठमाडौमा एक वर्ष भित्रमा १० वटा शाखा खोल्ने योजनामा छन्। काठमाडौंमा स्थापित भइसकेपछि भरतपुर, बुटवल, धरान लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य रहेको सुनाए ।
‘शाखाहरु बिस्तार गरेर आफूले सुरुवात गरेको नयाँ परिकारलाई छिट्टै स्थापित गर्न लागेका हौँ । धेरैतिर शाखा भएपछि व्यवसायलाई फैलाउन सहज हुन्छ ।’ उनीहरुले सुनाए ‘एउटा शाखाको लागि न्युनतम दश लाख बजेट छुट्याएका छौँ । हालसम्म हामी दुईले संयुक्त लगानी गरेका छौँ । अब सहकार्यका लागि दुई जना साथीहरु पनि इच्छुक हुनुहुन्छ । काठमाडौंका शाखाहरुमा दुई करोडको लगानी गर्नेछौँ ।’
‘मेरो कार्यक्षेत्र अन्यत्र भएपनि रोजगारी नपाएका केही मानिसहरुलाई रोजगारी दिने उदेश्य हो, अधिकारी भन्छन्, सुरुवातमा तीन जनाले रोजगारी पाएका छन् ।’ लाखौँ खर्च गरेर विदेश जाने अनि नेपालमा चाहिँ केहि नसोच्ने युवा जमातहरुलाई सन्देश पनि दिन खोजेका हौं ।’
‘नेपाल पनि फेसनेबल भएको छ । अलिकति युनिक, छोटो अनि जनजिब्रोमा छिट्टै झुण्डने नाम खोज्दा मिस्टर कन चयन गरेका हौँ ।, नाम चाहीँ विदेशी जस्तो भएन र भन्ने प्रश्नमा सुवेदी भन्छन् ‘विदेशी स्वादका पनि केहि परिकार भएकाले पनि यो नाम उपयुक्त हुन्छ । सामान्यतया मानिसहरुले मकैको नेपाली खानेकुरा पाइन्छ भन्दा पुरानै परिकार मात्रै पाइन्छ कि भन्ने बुझ्छन कि जस्तो पनि लाग्यो।’
‘मकैबाट सजिलै बनाउन सकिने अन्य परिकारहरुको पनि खोज अनुसन्धान गरिरहेको छौं। अमेरिका र इजरायलमा धेरै नै मकैको प्रयोग गरिन्छ।’ सुवेदी भन्छन्, ‘मकैबाट सयौँ परिकार बन्न सक्ने भएकाले खोजी गरिरहेको छौँ ।’
‘नयाँ कन्सेप्ट भएकाले थोरै जोखिम पनि छ। बजार लिन भने केही समय लाग्न सक्छ ।’ उनीहरु भन्छन्, ‘तर हामी केही समय पर्खिएर भने पनि स्थापित हुनेमा ढुक्क छौँ ।
स्रोतः मेरो लगानी डट कम