कफीको नयाँ मुल्य निर्धारण, कुनको मूल्य कति ?
१ मंसिर, काठमाडौं । सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिको मूल्यमा परिमार्जन गर्दै आर्थिक वर्ष ०७६र७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो ।
१५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको बोर्डले जनाएको छ ।
बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको छ । ८ सय मिटरभन्दा माथि प्रांगारिक पद्दतिअनुसार उत्पादन गरिएको ठिक्क पाकेको, पानीमा नडुब्ने चेरीलाई बोर्डले ग्रेड ‘ए’ वर्गीकरण गरेको छ । त्यस्तै, फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुर्याइएको छ ।
बोर्डले जारी गरेको न्यूनतम मूल्य सूचीअनुसार, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४२५ र ‘बी’को रु ३७५ कायम गरिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट ग्रेड ‘ए’मा पर्छ । ग्रेड ‘बी’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्ट भने ग्रेड ‘बी’ मानिन्छ ।
ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्यमा केही परिमार्जन गर्दै प्रतिकेजी १४० र ग्रेड ‘बी’ को भाउ ९० पुर्याइएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ मा राखेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्डको तथ्यांक अनुसार हाल नेपालका २० जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदैं आएको छ। विश्व बजार र आन्तरिक बजारमा यतिबेला १४ देखि १५ हजार मेट्रिकटनसम्म नेपालको अराविका जातको कफीको माग भए पनि नेपालमा हाल ५ सय ३० मेट्रिकटन मात्र कफी उत्पादन हुने गरेको छ ।
नेपालमा अराविका र अर्गानिक जातको कफी उत्पादन हुँदै आएको छ । कफी खेती नेपालमा १२ लाख हेक्टरमा रोपण गर्न सकिने भएपनि हाल करिव २८ सय हेक्टर क्षेत्रफलमा मात्र कफी रोपण र विस्तार गरिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ ।