ब्रेकिन्ग न्युज

उखुको अभाव हुँदा चिनी कारखाना बन्द

सर्लाही, चैत ३ ( कच्चा पदार्थ उखुको अभाव भएपछि मध्य तराईका चार वटा चिनी कारखाना बन्द भएका छन् ।
पहिलेका वर्षमा वैशाखसम्म सञ्चालन हुँदै आएका चिनी उद्योगहरु यस वर्ष एक महिना अघि नै बन्द भएको हो । लक्ष्य अनुसारको उखु उत्पादन नभएकाले क्रसिङ बन्द गर्न परेको ईन्दु शकर चिनी कारखाना हरीवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । तराइका जिल्लाहरुमा यस वर्ष ३५ प्रतिशतले उखु उत्पादनमा कमी आएकोले समयसम्म उद्योग चलाउन नसकिएको रजकले बताउनुभयो ।
उखु अभाव भएकै कारण महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर मिल, रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स, बाराको रिलाइन्स सुगर मिल र सर्लाहीको धनकोलमा रहेको अन्नपूर्ण चिनी कारखाना बन्द भइसकेका छन् । त्यस्तै उखु अभाव भएपछि सर्लाहीको हरीवनमा रहेको ईन्दुशकर चिनी कारखाना पनि चैत ५ गतेबाट बन्द गर्ने सूचना टाँस गरेको कारखानाले जनाएको छ ।
यस सिजनक लागि महोत्तरीको एभरेष्ट सुगर मिलले २६ लाख १४ हजार क्विन्टल, रौतहटको श्रीराम सुगर मिल्सले ८ लाख ६५ हजार क्विन्टल, बाराको रिलाइन्स सुगर मिलले १२ लाख क्विन्टल, सर्लाहीको धनकउलमा रहेको अन्नपूर्ण चिनी कारखानाले ११ लाख ५५ हजार क्विन्टल र सर्लाहीकै हरीवनमा रहेको ईन्दुशकर चिनी कारखाना २५ लाख क्विन्टल उखु क्रसिङ गरेको जनाइएको छ ।
सबै चिनी उद्योगका लागी यस वर्ष झण्डै १० लाख क्विन्टल उखु कमी भएको उद्योगले जानएको छ । यसरी उखु उत्पादन घट्नुमा मुख्य कारण किसानले बिक्री गरेको उखुको भुक्तानी समयमा नै नपाउनु र मुल्यमा उतारचढाव भएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।
आगामी सिजनका लागि उखु उत्पादक किसान र उद्योग सञ्चालकबिच बेलैमा समन्वय नभए अझ थप समस्या आउन सक्ने मैनालीले बताउनुभयो । लक्ष्य अनुसारको उखु क्रसिङ गर्न नसक्दा उद्योगले पनि यस वर्ष करोडौं रुपैयाँ बराबरको क्षती बेहोर्नु परेको मिल सञ्चालकहरुको दाबी छ । गएको पुस १५ गतेबाट क्रसिङ सुरु गरेको उद्योगले मात्र ८० दिन उखु क्रसिङ गरेको छ ।

उज्यालो अनलाईन