ब्रेकिन्ग न्युज

८० प्रतिशत कच्चा पदार्थ आयात गदैै, नेपाली दाना उद्योगमा २५ अरब लगानी

पशुपक्षिंपालन क्षेत्रमा कुल खर्चको ३० देखी ७० प्रतिशत खर्च दाना तथा आहाराको लागि आवश्यक पर्दछ । त्यसमा पनि कुखुरापालन क्षेत्रमा तयारी दानाको मात्र प्रयोग हुने भएकाले कुल खर्चको ७० प्रतिशत भन्दा धेरै दानामा खर्च हुने यस क्षेत्रमा संलग्न विज्ञहरु बताउँछन् । त्यसैले किसानको आर्थिक अवस्थामा सुधार ल्याउन सबै भन्दा पहिला दानाको गुणस्तर र यसमा हुने खर्चमा कटौती गर्नुपर्ने देखिन्छ । कुखुरालाई गाईभैसीलाई जस्तो घाँस खुवाएर हुदैन, यसको मुख्य आहारा भनेको दाना नै हो । हाल नेपालको पोल्ट्री क्षेत्रमा कुल ६५ अर्ब भन्दा धेरै लगानी रहेको पोल्ट्री उद्योग महासंघको तथ्यांक छ । जस मध्ये करिब २५ अर्ब दाना उद्योगमा लगानी भएको छ । त्यसमा पनि ९० प्रतिशत उद्योगहरुले मुख्य गरी कुखुरलाई चाहिने पेलेट दाना उत्पादन गर्दैै आएका छन् । दाना उद्योग संघको तथ्यांक अनुसार हाल नेपालमा साना ठुला गरी ३० वटा पेलेट दाना उत्पादन गर्ने उद्योगहरु छन् । अन्य १० वटा दाना उद्योगहरु सञ्चालनको तयारीमा छन् ।
दाना उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ हरु विशेष गरी मकै,भटमास, फिस मिल, फिड सप्लीमेन्ट जस्ता समाग्रीहरु ८० देखी ८५ प्रतिशत सम्म भारत लगायत अन्य मुलुकबाट आयात हुदै आएको छ । यस आधारमा दाना उद्योग क्षेत्रमा लगानी भएको करिब ८० प्रतिशत रकम कच्चा पदार्थमा खर्च हुदै आएको देखिन्छ । निजी क्षेत्रको सक्रिय सहभागिता रहेको नेपालको पोल्ट्री उद्योग आत्मनिर्भर हुनका लागि पहिला दानामा आत्मनिर्भर हुनुपर्ने देखिन्छ । कृषि क्षेत्रबाट उत्पादन गर्न सकिने र नेपालमा नै उपलब्ध हुने कच्चा पदार्थ समेत भारत लगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यताको विषयमा सरकार पनि अनविज्ञ छैन, तर हाल सम्म तयारी दाना उत्पादन र त्यसको कच्चा पदार्थको विषयमा नेपाल सरकारको कुनै पनि निकायले काम गरेको देखिदैन ।

पशुसेवा विभाग अन्तर्गत रहेको राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र पशुपक्षिंका लागि चाहिने आहारको उत्पादन प्रविधि र विस्तारमा काम गर्ने निकाय हो । तर हाल सम्म यस केन्द्रले दानाका लागि चाहिने कच्चा पदार्थ र दाना उत्पादनको विषयमा खासै कार्यक्रम ल्याएको छैन । यस सम्बन्धमा केन्द्र प्रमुख शंकर शाहका अनुसार केन्द्रलेहाल सम्म गाईभैसीका लागि आहारमा मुख्य रुपमा प्रयोग हुदै आएको घाँसबालीको उत्पादन वृद्धि र यसको विउ वितरणमा काम गदै आएपनि तयारी दाना उत्पादन र यसको कच्चा पदार्थ उत्पादन सम्बन्धमा भने खासै काम नगरेको जानकारी दिए ।
दानाको लागि चाहिने कच्चा पदार्थ मकै,भटमास उत्पादन सम्बन्धि कार्यक्रम कृषि मन्त्रालय र कृषि विभागले हेर्ने भएकाले यस सम्बन्धमा केन्द्रबाट काम नभएको शाहको भनाइ छ । दाना उत्पादन सम्बन्धि थोरै मात्रामा तालिमहरु सञ्चालन गर्ने बाहेक केन्द्रबाट हाल सम्म उपलब्धि मुलक काम भएको छैन ।

अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने दानाको गुणस्तर र यसमा हुनुपर्ने तत्वहरुको विषयमा राम्रो मापदण्ड नै तयार भएको छ । नेपालमा भने दाना ऐन २०३५ बनेपनि नियमावली बनेको छैन जसले गर्दा कस्तो गुणस्तर र मापदण्ड के हो भन्ने एकिन छैन । त्यसैले कस्तो गुणस्तरको दाना उत्पादन भई बजारमा आए आएको विषयमा भने अनुगमन तथा मुल्याङ्कन गर्ने कुनै संयन्त्र छैन । नीजि क्षेत्रबाट स्थापना भएका दाना उद्योगहरुले आफ्नै हिसाबले दाना उत्पादन गरि किसानलाई विक्री वितरण गर्दै आएका छन् । ति दानामा भएको भिटामिन,मिनरल्स, चिल्लोपदार्थ जस्ता विभिन्न आवश्यक तत्वहरु के – कति मात्रामा हुनुपर्ने वा भए नभएको विषयमा जाँच्ने निकाय नहुँदा किसानले दानामा गरेको लगानि अनुसार प्रतिफल लिन गाह्रो भएको छ ।

। पशुपक्षिं पालन सम्बन्धि प्रचार प्रसार र नियमनको काम पशु सेवा विभागले गर्ने भएपनि दानाको गुणस्तरको विषयमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हेर्ने हुँदा अझ समस्या भएको छ । हाल खाद्य विभागमा १ जना मात्र भेटेनरी डाक्टरको दरबन्दी रहेको छ, जसले नेपाल भरि छरिएर रहेका ३० भन्दा धेरै दाना उद्योगहरुले उत्पादन गरेको दानाको गुणस्तर चेक गर्न सक्ने अवस्था रहन्न ।

कृषक मासिकले नेपाली दाना उद्योगको अवस्थाको विषयमा रिर्पोट तयार पार्ने क्रममा उत्पादनको हिसाबले धेरै दाना उत्पादन गर्ने केहि दाना उद्योगहरु सँग कच्चा पदार्थको उपलब्धताको विषयमा छलफल गर्दा नेपालमा न्यूनतम ५० देखी ८० प्रतिशत दाना छिमेकी मुलुक भारतबाट आयात हुदै आएको र आफ्नो उद्योगले बार्षिक रुपमा १ अरब देखी डेढ अरब सम्म रकम कच्चा पदार्थ आयातमा खर्च गदै आएको जानकारी दिए । दाना उद्योग संघका अध्यक्ष नरायण हरि खत्रीका अनुसार नेपाली दाना उद्योग ८० प्रतिशत भन्दा धेरै कच्चा पदार्थका लागि भारत लगायत अन्य मुलुकमा निर्भर रहदै आएको छ ।