ब्रेकिन्ग न्युज

अर्गानिक मलमा दिएको अनुदानको ६ करोड रकम फिज्र भो

कमला भट्टराई

साउन ७
गत आर्थिक वर्षमा सरकारले अर्गानिक मलमा दिएको १० करोड अनुदान रकममा ३ करोड ९८ लाख ५८ हजार मात्र सदुपयोग भई ६ करोड रकम फ्रिज भएको माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षमा सरकारले १० हजार मेट्रिकटन आर्गानिक मल प्रति किलो १० रुपैँया अनुदान दिई वितरण गर्न सूचना प्रकाशित गरेपछि २१ वटा मल कम्पनिहरुले अनुदानमा मल विक्रि गर्नका लागि सूचि दर्ता गएका थिए ।
तर असार मसान्त सम्म जम्मा ३ हजार ९ सय ८५ मेट्रिकटन मल मात्र वितरण भएको निर्देशनालयका सुचना अधिकारी बामदेव पनेरुले जानकारी दिए । लक्ष्य अनुरुप अर्गानिक मल वितरण हुन नसक्दा बजेट फ्रिज भएको हो ।
नेपाल सरकारले माटो व्यवस्थापन निर्देशनालय अन्तर्गत मल कम्पनि स्थापनाका लागि मेशिनरीमा ५० प्रतिशत अनुदान दिई २१ वटा मल कारखानाले ( बोकासि र भर्मि समेत) अनुदान प्राप्त गरेका थिए ।
हाल ति मल कम्पनिहरु मध्ये करिब १० –१२ वटा मात्र मल कम्पनिलहरुले अर्गानिक मल उत्पादन गर्दै आएका छन् । बाँकि कम्पनिहरुको मल बजारमा देखिएको छैन ।
अनुदान निर्देशिकामा स्पष्ट रुपमा मेशिनरीमा अनुदान लिएपछि ५ वर्ष सम्म सो मल उत्पादन गर्ने कारखाना बन्द गर्न नपाउने नीतिगत व्यवस्था भएपनि यसको कार्यन्वयन पक्ष ज्यादै फितलो देखिएको छ ।

मल कम्पनिहरुको आरोप, कमिशनको खेलले बजेट फ्रिज भो
अनुदान बजेट अनुसार करिब १० हजार मेट्रिकटन मल वितरण गर्ने लक्ष्य राखिएको थियो, हाल मल उत्पादन गरिरहेका मल कम्पनिहरुको क्षमता र उत्पादन अवस्था अनुसार सो मात्रामा मल वितरण गर्न मलको मात्रा प्रार्याप्त भएको अर्गानिक मल उत्पादक एशोसियसनको भनाइ छ ।
उनिहरुका अनुसार अनुदानमा वितरण गर्ने भनिएको मलको विषयमा जिल्ला कृषि विकास कार्यालले र सेवा केन्द्रले किसानलाई राम्रो सँग जानकारी गराएका छैनन । जानकारी भएपनि कमिशनको खेल भएकाले जुन मल कम्पनिले कमिशन दिन सक्यो त्यस कम्पनिको मल मात्र अनुदानका लागि सिफारिस हुदै आएको उनिहरुको आरोप छ ।

अर्गानिक मल उत्पादक मध्ये कै एक युनिक बायोटेक अर्गानिक प्रा.लिका प्रबन्ध निर्देशक हरि मरठ्ठाका अनुसार, सरकारले अर्गानिक मलमा अनुदान दिन भनि छुट्टाएको बजेट देखावटी जस्तै भएको छ । उनि, भन्छन् जस्ले मल विक्रीका लागि कमिशन दिन्छ उसको मल मात्र विक्री हुन्छ, हाम्रो उत्पादन कमिशन दिइ – दिइ विक्री गर्नुपर्ने अवस्थामा छैनौ । मरठ्ठाका अनुसार कम्पनिले यस वर्ष ५ हजार मेट्रिकटन मल प्रत्येक्ष रुपमा किसानलाई विक्री गरेको छ ।
उचित जैविक मल उद्योगका प्रमुख कृष्ण चन्द महर्जन पनि अर्गानिक मलमा प्रतिकिलो १० रुपैँया अनुदानको बिषय किसानका थाहा नभएको र यदि थाहा भएपनि गुणस्तरको वास्ता नगरी जिल्ला कृषि र सेवा केन्द्रमा कमिशन दिन सक्ने कम्पनिको मल मात्र सिफारिस गर्ने अवस्था भएको बताउँछन् ।
अर्गानिक मल अनुदानमा पाइन्छ भन्ने विषय असार महिनाको अत्यतिर मात्र थाहा भएको हेटौडा २० हटिया मकवानपुरका किसान खिल प्रसाद पौडेल बताउँछन् । त्यसैगरी इलाम मंगलबारेका कृष्ण पौडेलले पनि अर्गानिक मल अनुदानमा पाइन्छ भन्ने विषय थाहा नभएको जानकारी दिए । उनका अनुसार कृषि सेवा केन्द्र र जिल्ला कृषि कार्यालयले यो विषयमा केहि सूचना वा जानकारी दिएको छैन ।
चितवन जिल्लाको पिठुवामा सञ्चालनमा आएको मनकामना एग्रो अर्गानिक फर्टिजाइजर प्रा.लिका प्रवन्ध निर्देशक रविकृष्ण जोशिका अनुसार उनको मल कारखानाको क्षमता दैनिक ३ हजार टन उत्पादन गर्ने भएतापनि बार्षिक रुपमा ३ सय देखी ४ सय टन मल मात्र उत्पादन गरिदैँ आइएको छ । यसको मुख्य कारण नियमित विद्युत आपुर्ति नहुँनु, उत्पादित मल विक्री हुने सुनिश्चितता नहुनु, सरकारले कृषि सेवा केन्द्र मार्फत १० रुपैँया अनुदानमा दिने भनेको मल अनुदानको कार्यक्रमको विषयमा किसानलाई थाहा नहुुनु आदी रहेको जोशिको भनाइ छ ।
किसानलाई अनुदानित मलको विषयमा जानकारी दिन सबै मल कम्पनिहरुको मल, मलमा भएका तत्वहरु र मुल्य जिल्ला कृषि विकास कार्यालय वा सेवा केन्द्रको सूचना पाटिमा राखिदिए यो प्रकारको समस्या नहुने उनको भनाइ छ । हाल सम्म कुनै जिल्ला कृषि कार्यालयले यस प्रकारको सूचना नराखेको पनि जोशिले जनकारी दिए ।

सरकार भन्छ मल कम्पनिहरु किसान सम्म पुगेनन्
मल उत्पादक कम्पनिहरुले कमिशनको चक्करले अनुदानका लागि छुट्टाएको बजेट फ्रिज भएको भनिरहँदा माटो व्यवस्थापन निर्देशनालय भने मल कम्पनिहरु किसानको खेत– खेतमा मलको विषयमा प्रचार प्रसारका लागि नगएर यस्तो समस्या आएको बताउँछ ।
जिल्ला कृषि कार्यालय र कृषि सेवा केन्द्रले धेरै किसानलाई समेट्न नसक्ने भएकाले स्वयम मल कम्पनिहरु किसानको खेतमा मल प्रयोग र परिक्षणका लागि जानुपर्ने निर्देशनालयका सुचना अधिकारी बामदेव पनेरुले जानकारी दिए । उनका अनुसार मल अनुदानमा विक्री गर्नका लागि सूचना आह्रवान हुदाँ सूचि दर्ता गराएकाहरु सबै मल कम्पनिहरुले किसानको खेतमा जानुपर्छ ।
सेवा केन्द्रहरुमा सम्पर्क राखी सबै मलहरु परिक्षणका लागि एउटै फिल्ड प्रयोग गर्ने र सोहि आधारमा किसाले जुन मल मनपराउँछन्, सोहि मल बितरण गर्न सकिने बालाजु सेवा केन्द्र, काठमाडौँका नायब सहायक प्राविधिक डोलनाथ सापकोटाको भनाइ छ ।