ब्रेकिन्ग न्युज

काभ्रेका किसानले रासायनिक विषादीको मात्रा घटाउदैँ

चैत्र ४ बनेपा कुनै समय थियो, काभ्रे जिल्ला अझ पाँचखालको भन्नेबित्तिकै बढी रासायनिक विषादी प्रयोग भएको तरकारी भन्दै उपभोग गर्नेहरु डराउने अवस्था थियो। तर, यतिखेर पाँचखाल उपत्यकालगायत समग्र जिल्लामै रासायनिक विषादीको खपत घटेको सरकारी तथ्यांकले समेत प्रमाणित गरेको छ।

कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा.जनार्दन खड्का भन्छन्, आर्थिक वर्ष ०७०/७१ देखि काभ्रे जिल्लामा विषादीको खपत स्वात्तै घटेको पाइन्छ। यसो हुनुमा किसानले रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोगमा बढावा दिएका र पछिल्ला वर्षमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) प्रणालीमा आधारित खेती बढेकाले समेत सम्भव भएको हो।’

केन्द्रको तथ्यांकअनुसार आव ०७०/७१ मा कीटनाशक, ढुसीनाशक, झारनाशक र अन्य गरी ८६ मेट्रिक टन विषादी खपत भएको थियो। आव ०७२/७३ मा एकैपटक ११ मेट्रिक टन विषादी खपत घटेपछि यो दर ओरालो लाग्दै आएको छ। आव ०७४/७५ सम्म आइपुग्दा साढे ७१ मेट्रिक टन खपत भएको छ। यसमा कीटनाशक, ढुसीनाशक र झारनाशक विषादीको बाहुल्य रहेको छ।

आकस्मिक रुपमा भएका अनुगमनबाट समेत विगतझैं जथाभावी विषादी बिक्री वितरणको अवस्था नरहेको खड्काको भनाइ छ। किसानले विषादी प्रयोगको मात्रा घटाएको मात्रै नभई विषादी छर्केपछि पर्खनुपर्ने अवधिलाई समेत पालना गर्दै गएको पाएका छौं। एग्रोभेट पसलको अनुगमनका क्रममा समेत घातक विषादीको बिक्री वितरण रोकिएको पाएका छौं,’ पाँचखालमा आयोजित अन्तरक्रियामा उनले भने।

पाँचखाल–६ की कृषक प्रभा श्रेष्ठ (दुलाल)ले हिजो झैं पाँचखालमा विषादी प्रयोगको अवस्था नरहेको दाबी गरिन्। ‘रासायनिक विषादीको साटो जैविक विषादीमा प्रयोग गर्न थालेको धेरै वर्ष भयो। हाम्रो खेतबारीमै आएर विषादी जाँच गरे पनि हुन्छ। हामीहरु सुरक्षित खाद्यबाली उत्पादनमा अग्रसर भइसकेका छौं, उनले थपिन्।

पाँचखाल नगरपालिकामा व्यावसायिक तरकारी खेती गर्दै आएका अधिकांश महिलाहरुले अफ सिजन’ तरकारी खेतीमा समेत विषादी प्रयोग घटेको दृष्टान्त दिए। ‘पहिलापहिला आलु उम्रेदेखि नखन्दासम्म विषादी हालिरहन्थ्यौं। नगरपालिकाको कृषि शाखा, मसला बाली विकास केन्द्र, कृषि ज्ञान केन्द्र र प्लान्ट क्लिनिकका प्राविधिकको सल्लाहमा आवश्यक परेको समयमा र सुरक्षित विषादीमात्रै प्रयोग गर्दै आएका छौं, ब्रह्मायणी महिला कृषक समूह, पाँचखाल–३ की अध्यक्ष लक्ष्मी श्रेष्ठले भनिन्, दुई रोपनी आलुमा डेढ लाख रुपैयाँ कमाई हुँदा कीटनाशक, ढुसीनाशक र भिटामीन गरि २५ सय रुपैयाँमात्रै खर्च लागेको छ।’

पाँचखाल भेगकै पुरानो विषादी पसल पाँचखाल बीज भण्डारका सञ्चालक सरोज सापकोटा पनि किसानमा घातक विषादी हाल्नु नहुने धारणा आएकोमा खुसी देखिन्छन्। उनी भन्छन्, हिजो छर्कनासाथ कीरा मर्ने विष चाहियो भन्ने किसान यतिखेर कीरा मर्ने तर मानिस, पशुपक्षी र वातावरणलाई असर नगर्ने विष माग्न थालेका छन्। किसानको यस्तो व्यवहारले पाँचखालमा सुरक्षित खाद्य र तरकारी (सेफ फुड) उत्पादन हुन थालेको सन्देश प्रवाहलाई सहज पार्छ।’


यसै वर्षको भदौ १५ गतेदेखि कृषि ज्ञान केन्द्र धुलिखेलमा स्थापना भएको विषादी अवशेष नियमन प्रयोगशाला (रेपिड बायो एसे अफ पेष्टिसाइड रेजिड््यू–आरबिपिआर ल्याब)ले पाँचखाल र केराघारी क्षेत्रबाट ताजा तरकारीका नमूना आकस्मिक रुपमा संकलन गरी परीक्षण ग¥यो। दुवै स्थानबाट गोलभेंडा, भण्टा, भिण्डी, बोडी, काँक्रो, चिचिण्डो, घिरौंला, तीतेकरेला र सिमीलगायत बालीको १५ वटा नमूना संकलन गरि परीक्षण गरेको थियो।

सो क्रममा तरकारीको नमूनामा रहेको विषादीको अवेशषको मात्रा सुरक्षित मापदण्डभित्रै रहेको पाएको थियो। ‘हामीले ल्याब स्थापना भएदेखि हालसम्म पाँचखाललगायत अन्य क्षेत्रमा उत्पादित तरकारीका ७० वटा नमूना परीक्षण गरेका छौं। त्यस क्रममा अर्गानोफोस्फेट एवं कार्बामेट्स समूहका विषादीको रुकावटको प्रतिशत (इन्हिविसन) ३५ प्रतिशतभन्दा कम आएको पायौंं,’ केन्द्रकी बाली संरक्षण अधिकृत सरिता सापकोटाले भनिन्।

बागमती प्रदेशको विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ अनुसार नमूनामा रुकावटको प्रतिशत (इन्हिविसन) ३५ प्रतिशतभन्दा कम आएकाले खानयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी इन्हिबिसन आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नु पर्ने उल्लेख गरेको छ। धुलिखेलको प्रयोगशालाले प्रत्येक दिन आठदेखि १२ वटासम्म तरकारीलगायत ताजा कृषि उपजको नमूनाबाट अर्गानोफोस्फेट एवं कार्बामेट्स समूहका विषादीको अवशेष विश्लेषण गर्न सक्ने क्षमता राख्दछ। तर पनि प्रचारप्रसारको अभावमा किसानले स्वःस्फूर्त रुपमा तरकारी जचाउन भने ल्याउने गरेका छैनन्।
श्रोत नागरिक न्यूज