ब्रेकिन्ग न्युज

अज्ञात रोगले कफी सखाप

फाल्गुन २९ काठमाडौं कफीको फसल भित्र्याउने समयमा एकाएक अज्ञात रोगको प्रकोप फैलिएको छ। गत मंसिरबाट देखिन लागेको यो प्रकोपले फागुनको पहिलो सातासम्ममा अधिकांश ठाउँका उत्पादनमा दुष्प्रभाव पारिसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ।

हाँगा, पात, जरा सुक्दै जाने र फलसमेत सुकेर अन्तिममा बोटै मर्ने समस्या देखिएको बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को विशेषज्ञसहित बोर्डको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

‘कफीका दाना उन्नत हुन सकेको देखिएन। सबै बोट मर्दै गएका छन्,’ खनालले भने, बाहिर हेर्दा राम्रै लागेका दाना पनि भित्र हेर्दा बिग्रेको पाइयो।’

कफी खेती गरिनेसबै जिल्लामा एकैनासको लक्षण देखिएको छ। खनालले स्थलगत अनुगमनपछि यो प्रकोप जलवायु परिवर्तनको असर हुन सक्ने अनुमान गरिएको बताए। एकाध फार्ममा मात्र यो समस्या देखिएको भए रोग भन्न मिल्थ्यो। सबै जिल्लामा विस्तार भएको समस्या हेर्दा जलवायु परिवर्तनकै असर हो कि भनेर अनुमान गरिएको छ,’ उनले भने, नार्कको टोलीले परिक्षणको लागि नमुना लिएको छ, केही दिनमा प्रतिवेदन आउँछ, के भएको हो, पत्ता लाग्ला।

खनालले प्रकोपका कारण उत्पादनमा कमी आउने बताए। फल दिने बोटमात्र नभएर नर्सरीको बिरुवामा पनि यो समस्या देखिएको छ,’ उनले भने, यसबाट ३० देखि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गर्न सकिन्छ। बोट मरिसकेको कारण यसको प्रभाव आगामी वर्ष पनि देखिनेछ। उनले नयाँ बिरुवा रोपेर उत्पादन लिन कम्तीमा चार वर्ष लाग्ने भएकाले अर्को चार वर्षसम्म कफीको उत्पादनमा कमी आउने बताए।

उनले क्षति मूल्यांकन गरी गण्डकी प्रदेश सरकारले किसानलाई क्षतिपूर्ति र नयाँ बिरुवा उपलब्ध गराउने योजना अगाडि सारेको जानकारी दिए। बोर्डले मन्त्रालय र सरोकारवालासँग छलफल गरेर थप निर्णय लिने उनको भनाइ छ।

नार्कको बाली विज्ञान महाशाखाका प्रमुख सुरज वैद्यले कफीको बोटमा जरा, डाँठ र दानामा एकैसाथ समस्या देखिएको बताए। उनले भने, ‘हामीले माटो, दाना र जरा लिएर अनुसन्धान गरिरहेका छौं, खराब मौसम, खाद्य तत्वको कमी भएको आशंका छ, जरा कुहिएको र त्यसमा जीवाणुसमेत देखिएको छ।

गएको पुसमा चिसो बढेर तुसारो आएपछि कफीमा मात्र हैन, अन्य बालीमा समेत असर पुगेको उनले बताए। ‘बोटमा सामान्य रोग रहेर कमजोर भएको अवस्थामा चिसोले झनै संक्रमण बढायो। तापक्रम बढ्दै जाँदा यसमा नियन्त्रण आउने अनुमान गरिएको छ,’ उनले भने, अहिले लभगभ ५० प्रतिशत बिरुवामा प्रभाव देखिएको भए पनि आंशिक प्रभाव देखिएका बिरुवा बचाउन सकिन्छ।’ बैद्य नेपालको कफी अर्गानिक भएका कारण विषादी छर्न नमिल्ने भए पनि बोडी मिक्स्चर छरेर जीवाणु हटाउन सकिने बताउँछन्।

उनले किसानको व्यवस्थापनमा कमजोरी रहेको पाइएको जानकारी दिए। ‘काँटछाँट भएको छैन, एक बिरुवाबाट अर्को बिरुवाबीचको ग्यापसमेत ख्याल गरिएको छैन’, बैद्यले भने, ‘तीन मिटर फरक रहनुपर्नेमा एक मिटरको मात्र फरक छ, त्यसमा पनि मल आवश्यकताअनुसार राखिएको छैन।’ उनले हरेक बिरुवाले केही वर्षसम्म वरपरका झारपातबाट समेत खाद्य तत्व पाउने भए पनि बिस्तारै त्यो पर्याप्त हुन छाड्ने भएकाले पौष्टिक तत्वको अभाव देखिने बताए।

कफी व्यावसायी महासंघका महासचिव सन्तोष पोखरेल प्रकोपबाट कास्की, काभे्र, ललितपुर, नुवाकोट र सिन्धुपाल्चोकमा बढी क्षति भएको बताउँछन्। कफीमा अहिले भयावह अवस्था छ, गत वर्ष पाँच सय ३१ मेट्रिक टन उत्पादन भएको कफी यो पटक मुस्किलले चार सयसम्म पुग्ला,’ उनले भने, ‘अर्को साल त्यो उत्पादन पनि घट्ने निश्चित छ, किनकि अहिले रोग लागेकै बोटको पनि फल टिपिएको छ, अर्को वर्ष बोटै कम हुनेछन्।

पोखरेल यसबाट साना किसान, मझौला र सहकारीमार्फत उत्पादन गरिरहेका किसान बढी प्रभावित बताउँछन्। उनले भने, ‘व्यवस्थित रुपमा खेती गर्दै आएका ठूला व्यवसायीमा भने यो समस्या कम छ, उनीहरुले उन्नत तरिकाबाट प्रविधिको प्रयोग, उचित मलजल तथा प्राविधिकको निरन्तर निगरानीमा रहेर खेती गर्दै आएकाले खासै असर गरेको छैन।

देशभर रहेका कुल साढे ३२ हजार किसानमध्ये अहिले १२ हजार किसान प्रत्यक्ष प्रभावित भएको पोखरेलको दाबी छ। उनी बिक्रीका हिसाबले यस वर्ष उत्पादनमा मात्रै १९ करोडभन्दा बढी नोक्सानी हुने बताउँछन्।
श्रोत नागरिक न्यूज