ब्रेकिन्ग न्युज

उत्कृष्ट ३७ किसान पुरस्कृत

फाल्गुन २७ उदयपुर : व्यावसायिक कृषि पेसा अँगाल्दै आएका उत्कृष्ट ३७ जना किसानलाई बेलका नगरपालिकाले नगदसहित सम्मान गरेको छ। तीन दिने जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा व्यावसायिक रूपमा कृषि पेसामा रहेका किसानलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको हो। कृषि क्षेत्रबाट समृद्ध बेलका नगरपालिका बनाउने योजनालाई सार्थक तुल्याउन सहयोग गरबवापत उनीहरूलाई सम्मान गरिएको नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए।

उनले भने, ‘हिजोसम्म निर्वाहमुखी कृषि गर्दै आएका थिए, अहिले नगरपालिकाले कृषिक्षेत्रलाई पकेट बनाउने अभियानमा उनीहरूले व्यावसायिक रूपमा लागि परेकाले सबै किसानलाई प्रोत्साहन गर्न सम्मान गरेका हांै।’ नगरपालिकाले अन्य कृषकलाई पनि आकर्षित गर्न र गरिरहेकालाई पनि उत्साहित गर्न विभिन्न बिद्यामा प्रथम हुने तीन जनालाई जनही सात हजार, द्धितीय हुने पाँच जनालाई जनही पाँच हजार र तृतिय हुने २९ जनालाई जनही तीन हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरी सम्मान गरेको प्रमुख थापाले बताए।

मेलामा कृषिसँग सम्बन्धित औजार पावर टेलर, मकै रोप्ने, धान काटने, धान रोप्ने, कुटी काट्ने मेसिन, मिनीटेलर, मकैको थ्रेसर, गाडी धुने मेसिन, कुटानीपिसानी मिल तथा विभिन्न जातका तरकारी, बिउबिजन, वयरवन, जमुनापारी जातका बोका, होलिस्टियन गाई, प्रदर्शनीमा राखिएको नगर उपप्रमुख राजकुमारी चौधरीले बताइन्।
श्रोत अन्नपूर्ण पोष्ट