ब्रेकिन्ग न्युज

चियाखेतीको विस्तार हुदैँ पर्यटकीय क्षेत्रमा

पुष ३ भोजपुर ः भोजपुर नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र धापखर्क र सुन्तले क्षेत्रमा चियाखेती विस्तार गरिएको छ। पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउन र स्थानीय कृषकलाई आयमूलक बनाउने उद्देश्यले चिया विस्तार गरिएको हो।

थामडाँडा टेम्के सिलिचुङ संस्थाको सहकार्य र नगरपालिकाको सहयोगमा उक्त पर्यटकीय क्षेत्रको खाली, सार्वजनिक तथा व्यक्तिगत जग्गामा चियाखेती सुरु गरिएको हो। नगरपालिकाका २, हेलौछा, वडा नं ५ बोखिम, वडा नं १० भैसीपंखा र वडा नं ९ पर्ने धापखर्क, टिमुरे, सुन्तलेलगायत पर्यटकीय क्षेत्रलाई चिया जोनको रूपमा विस्तार गरिएको छ।

मुख्य बालीको रूपमा रहेको मकैमा लागेको रोगले मासिन थालेसँगै उत्पादनमा ह्रास आउन थालेपछि वैकल्पिक खेतीको रूपमा चियातर्फ किसान आकर्षित भएका छन्। परम्परागत खेतीले निर्वाहमुखी र आयमूलक नबनेपछि चिया खेतीतिर लागेको स्थानीय कृषक निमा शेर्पा बताउँछन्। ‘मकै रोपिन्छ, फल लाग्दैन, किराले हैरान पार्छ। अन्नको जोहो गर्नै मुस्किल छ’, उनले भने, ‘चिया रोपेपछि कीरा पनि कम लाग्ने, राम्रै आम्दानी पनि हुने भएकाले खाली खर्क, चौरीमा चिया रोप्न थालेको छु।’ पछिल्लो ३ वर्षभित्र जिल्लाका अधिकांश उच्च र मध्य भू(भागका खुला, खाली खर्क, चौरी र सार्वजनिक तथा व्यक्तिगत जग्गामा चिया खेती विस्तार हुन थालेको छ।

तत्कालका लागि करिब ३ लाख लगानीमा उक्त क्षेत्रको ६ रोपनी जग्गामा १ लाख चियाका बिरुवा रोपिएको छ। गाउँका युवालाई स्वरोजगार बनाउन नगरपालिकाको सहयोगमा खाली खर्क तथा जग्गामा बिरुवा रोपण गरिएको छ। रोपिएको बिरुवालाई ३२ रोपनीमा फैलाउने योजना रहेको धापर्खक टिमुरे चिया बगानका अध्यक्ष दाताराम घिमिरेले बताए। उनले विभिन्न समस्याका बावजुत पनि टेम्के मैयुङ गाउँपालिका २, छिनामखुबाट चियाका बिरुवा ल्याएर बगान लगाउन सुरु गरिएको बताए। यहाँ उत्पादित अर्गानिक चियालाई देशविदेशमा बजारीकरण बढाउने उद्देश्य रहेको किसान बताउँछन्।

भविष्यमा ‘भोजपुरे ब्रान्ड’ का रूपमा चिया उत्पादन गरी पर्यटक आकर्षित र स्थानीयको आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले उक्त पर्यटकीय क्षेत्रमा चिया खेती विस्तार गर्न किसानलाई अभिप्रेरित गरिएको नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताए। वर्षौंदेखि खाली रहेका जग्गामा चिया खेती गरी आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्‍याउँदै स्थानीयस्तरलाई आयमूलक बनाउन सहज हुने उनले बताए। स्थानीय सरकारको हैसियतले नगरक्षेत्रमा चिया जस्तै अन्य आयमूलक स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गर्दै लगिने मेयर आलेले प्रतिबद्धता जनाए।

जिल्लाका विभिन्न क्षेत्रका बाँझिएका, खुल्ला खर्क, चौरीमा चियाखेती विस्तारको क्रम जारी छ। जिल्लामा सञ्चालित थामडाँडा(टेम्के(सिलिचुङ कृषि सहकारी संस्थाले ४ वर्षदेखि स्थानीय कृषकसँग समन्वय गर्दै चियाखेती विस्तारको क्रम अगाडि बढाएको छ। तत्कालका लागि कुल १ हजार ३३ हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार गर्ने सम्झौता भए पनि टेम्के मैयुङ गाउँपालिकका चखेवा(छिनामखु, पान्धारे, रामप्रसाद राई गाउँपालिकाको ओख्रे, पामाखाम, बतासे, हुर्बु, हलहले, आमचोक गाउँपालिकाको भष्मेचौर यूँ, हतुवागढी गाउँपालिकाको दिमालुङ, पूर्णेडाँडा गरी ७ वटा बगान क्षेत्रमा करिब ७ लाख बराबर चियाका बिरुवा विस्तार गरिएको छ। ती क्षेत्रमा बगान विस्तार, बिरुवा रोप्ने, नर्सरी गर्नेलगायत काम अघि बढाइएको छ।
श्रोत ः अन्नपूर्ण पोष्ट