ब्रेकिन्ग न्युज

किवीको बजारीकरणमा समस्या

पुष १ सोलुखुम्बु ः सोलुखुम्बुमा किवीको बजारीकरणमा समस्या देखिएको छ। स्थानीय उपभोक्ताले किवीको महत्व नबुझ्नु र बाह्य बजारसम्म किसानको पहुँच नपुग्नाले ग्रामीण भेगका कृषकले उत्पादन गरेका किवी घरमै भण्डारण गर्नुपर्ने बाध्यता देखिएको छ।

राम्रो बजार मूल्य पाउने आसमा किवी खेतीमा हौसिएका किसान उत्पादनले उचित बजार नपाउँदा निरास बन्दै गएका छन्। पहुँच हुनेले काठमाडौंमा भाटभटेनीसँग समन्वय गरी ढुवानी तथा बिक्री गरेका छन् भने पहुँच नराख्नेले उत्पादित किवी घरमै भण्डारण गरेर राख्न बाध्य भएका छन्।

सल्यानका किवी कृषक प्रेमबहादुर राईले अघिल्लो वर्ष स्थानीय बजारमा जबर्जस्त बिक्री गरेको किवी यो वर्ष भाटभटेनीसँग समन्वय गरेर प्रतिकेजी २७० रुपैयाँमा बिक्री गर्न सफल भएको बताए। उनले भने, ‘किवीको बजार पहिचान गरेर पहुँच राख्न सके बिक्री नहुने भन्ने नहुदोरहेछ।’ किवी जोन कार्यक्रमको सहयोगमा किवी खेतीलाई अझ विस्तार गर्ने सोच बनाएको कृषक राईको भनाइ छ।

माप्यदूधकोशी गाउँपालिका ३ बासाका ललित कार्कीले उत्पादन मनग्गे भए पनि गाउँघरमा नबिक्ने, बाहिरको बजार चाल नपाउँदा घरमै फिजाएर राखेको बताए। उनले भने, ‘गाउँमा फाट्टफुट्ट बिक्री हुन्छ, महत्व नबुझ्नाले बरु आयातित अनार, स्याउ किनेर खान्छन्, किवीलाई फलफूलको रूपमा किनेर खाने चलन बाक्लिएको छैन।’ उनले पाकेको किवी परिवार र आफन्तले खाँदै बसेको बताए।

जिल्लाको नेचासल्यान, माप्यदूधकोसी, थुलुङदूधकोसी गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका कृषकले किवी खेती गर्दै आएका छन्। चालु आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत वर्ष किवी जोन कार्यक्रमसमेत स्वीकृत भएकाले किवी खेती थप व्यवस्थित हुने आशा राखिएको छ। २०७१ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको कार्यक्रमबाट किवी खेतीतर्फ कृषक आकर्षित भएका हुन्।

किवी खेती सम्भावनालाई ध्यानमा राखेर किवी जोन कार्यक्रम सुरु भएको जिल्लामा बागबानी केन्द्र फाप्लूले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका कृषक र कृषि प्राविधिकलाई किवी खेती विषयक तालिम प्रदान गर्दै आएको छ। वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले व्यावसायिक किवी खेतीको भविष्य देखेरै कृषि प्राविधिक अगुवा कृषकलाई किवी खेतीका लागि आवश्यक ज्ञान, सीप र ऊर्जा भर्ने काम गर्दै आएको बताए। उनले भने, ‘कतिपय कृषकबाट बजारको समस्या भयो भन्ने गुनासो आएको साँचो हो तर ठूलो परिमाण र गुणस्तरीय उत्पादन ध्यान दिने हो भने बजार नपाउने भन्ने शंकै रहँदैन।’
श्रोतः अन्नपूर्ण पोष्ट