ब्रेकिन्ग न्युज

चिउरीको घिउ बेचेरै २० लाख रुपैयाँ कमाउछन् हीरामणि राना

मंसिर २९ सल्यान ः जिल्लाको कालिमाटीका–४ खैरेनीका हीरामणि रानाले चिउरीको घिउ बेचेरै २० लाख रुपैयाँ कमाएका छन् ।

चिउरीको घिउ बेचेर ठूलो परिणाममा रकम कमाउने उनी जिल्लाकै पहिलो व्यवसायी हुन् । जंगलमा त्यसै खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ बनाएपछि यहाँका स्थानीय समेत दंग छन् ।

उनले उत्पादन गरेको चिउरीको घिउ हर्बल साबुन बनाउन प्रयोग हुन्छ । पाँच लाख रकममा स्थानीयसँग ७० क्विन्टल चिउरीको दाना खरिद गरेका व्यवसायी रानाले उत्पादित चिउरीको घिउ बिक्रीका लागि हसना हर्बल उद्योग काठमाडौँसँग सम्झौता गरेका छन् । ‘बजारको कुनै समस्या छैन, जति चिउरीको घिउ उत्पादन गर्नसक्यो त्यति बिक्री हुन्छ’, उनले भने ।

उनका अनुसार यो वर्ष प्रतिकिलो साढे दुई सयमा बिक्री गर्ने सम्झौता गरिएको छ । कालिमाटी गाउँपालिकाका विभिन्न जंगलमा प्रशस्त मात्रामा चिउरी पाइन्छ । जंगलमा चिउरी पाइने भएकाले कालिमाटीका स्थानीयले मौरीपालनमा समेत जोड दिएका छन् । हरेक वर्ष चिउरी पाइने क्षेत्रमा मौरीपालन गरेर स्थानीय लाखौँ रकम आम्दानी गर्न सफल भएका हुन् ।

जेठ महिनादेखि पाक्न सुरु गर्ने चिउरीको बिरुवा रोपेको झन्डै २५ वर्षपछिमात्रै फलदिन सुरु गर्छ । यो बिरुवा कडा चट्टानी भूभागमा राम्रोसँग फस्टाउने गर्छ । स्थानीय कुवेर केसीका अनुसार गाउँमा पहिलोपल्ट चिउरीको दाना बिक्री हुन थालेपछि एक सय जनाभन्दा बढीले दाना टिप्ने रोजगारी पाएका छन् ।

चिउरीको दाना संकलन गरी बिक्री गर्ने हरेक किसानले चार हजारदेखि १० हजारसम्म आम्दानी गरेको कुवेर केसीले बताए । ‘चिउरी प्रशोधनका लागि चार जनाले रोजगारी पाएका छौं, चिउरीको फल बेचेर पनि धेरै पैसा कमाउन सकिन्छ भन्ने सोचेका थिएनौं’, उनले भने ।
श्रोत ः अन्नपूर्ण पोष्ट