ब्रेकिन्ग न्युज

अलैंचीको विकल्प अम्लिसो खेती

असोज २ भोजपुर भोजपुर नगरपालिका १०, भैंसीपंखा खुरिलाका अलैंची कृषक दुर्गा कार्की अहिले निराश छन्। तीन वर्षअघि बगानको अलैंचीले प्रतिमन एक लाख रुपैयाँसम्म आम्दानी गरेपछि उनी निकै उत्साहित बनेका थिए।

त्यो वर्ष घरखर्च, छोराछोरीको पढाइखर्चबाहेक बाहिर केही जग्गा पनि जोडे। तर त्यसकै अर्को वर्ष अलैंचीको भाउमा भारी गिरावट आयो। अलैंची खेतीमा निकै रौसिएका कार्की एकाएक ओइलाए। धानखेत मासेर लगाएको अलैंचीको भाउ निरन्तर गिरेपछि उनलाई निराश तुल्यायो। त्यसै वर्षदेखि अलैंची बगानमा पनि छिर्केफुर्के, डढुवा, गानो कुहिनेजस्ता रोग देखिन थाले। अलैंची बगान एकाएक मर्न थालेपछि उनलाई झन् चिन्तित बनायो।

अलैंचीमा दुवैबाट घाटा दिएपछि उनले अलैंची रोपेको ठाउँमा धमाधम अम्लिसो लगाउन थालेका छन्। ‘अलैंचीमा भाउ छैन, गरेको लगानी नि उठेन, रोपेका अलैंचीमा पनि रोगले फस्टाउनै दिएन’, उनले भने, ‘दुईवर्ष अघि फलाएको अलैंची पनि बिक्री नभएर थन्क्याएर राख्नुप¥यो। मर्नुभन्दा बहुलाउनु बेश भनेझैं बरु अम्लिसो लगाए, केही त कमाइ होला कि भन्ने सोच्या छु।’ प्रशस्त आम्दानीले हौसिएर ६ वर्षअघि अलैंची खेतीमा लागेका उनलाई अलैंचीले भाउ नपाउनु एकातिर अर्कोतिर अलैंची खेतीमा देखेको रोगले खेती नै चौपट बनाइदिएपछि निराश बनाएको हो।

अलैंचीमा देखिएको रोगले किसान बढी पीडित छन्। अलैंचीको पातमा किरा लाग्ने, छिर्के फुर्के, गानो कुहिने, पात कालो भएर सुक्ने रोग र ढुसीजन्य प्रकोप देखिएर अलैंची खेती मासिनाले पनि कृषक चिन्तित बनाएको छ। ‘रोगको निदान गर्न कुनै निकायले पनि खासै चासो दिएनन्, सोधीखोजी गर्दा पनि खास रोग पत्ता लागेन, रोग लाग्न थालेको ५ वर्ष जति भइसक्यो’, बोखिमका कृषक श्रीकुमार राईले भने। भोजपुरबाट निर्यात हुने अलैंची मुख्य व्यापारिक केन्द्र धनकुटा, धरान, विराटनगर, काठमाडौं, संखुवासभाको खाँदबारी हुँदै विदेशसम्म निर्यात हुन्छ।

रोगले अलैंची मासिने सम्भावना बढेपछि धेरैजसो बगानहरु रित्तिएका छन्। विकल्पमा किसानहरु अम्लिसो खेतीतर्फ उन्मुख भएका छन्। फल भित्र्याउने बेला बोट नै मर्ने भएपछि अन्य खेतीतर्फ लागेका हुन्। ‘राम्रै कमाइ होला भनेर विरुवा खरिद गरेर रोपियो, फल्नै नपाई मरेपछि अलैंची खेती माँस्दै अम्लिसोको बोट खोजीखोजी रोप्न थालेको छु’, षडानन्द नगरपालिका दिङ्लाका लालबहादुर तामाङले भने, ‘दुई वर्षयता रोगले राम्ररी च्यापिसकेका कारण आम्दानीमा समेत ५० प्रतिशत ह्रास आएको छ।’

जिल्लाको माथिल्लो चिस्यान भेगमा चिराइतोपछि मुख्य नगदेबाली रूपमा खेती गरिने अलैंचीको मूल्यमा वर्षेनी गिरावट आएपछि आम्दानी स्रोत नै धराशायी बन्ने अवस्थामा पुगेको छ। ‘हाम्रो न जागिर छ, जायजेथाको नाउँमा यही अलैंचीबारी थियो, फल्नै छाडेपछि अब के गरेर गुजारा चलाउने, छोराछोरी केले पढाउने रु ’, भोजपुर नगरपालिका २, हेलौंछाका पूर्णबहादुर राईले दुखेसो गरे।

कृषि ज्ञान केन्द्र भोजपुरले अलैंची बगानमा लागेको रोग नियन्त्रणलाई बेलाबेला किटनाशक औषधि, बिउबिजन उपलब्ध गराउँदै आएको बताएको छ। ‘अलैंचीमा रोग लागेर उत्पादनमा ल्याएको ह्रासलाई अनुगमन गरेका छौं, सक्दो प्राविधिक सहयोग गरिरहेका छौं। पर्याप्त मात्रामा नियन्त्रणका लागि पूर्णदक्षता नभएकाले समस्या देखिएको हो’, केन्द्रका सूचना अधिकारी कर्णध्वज भुजेलले भने।
श्रोत अन्नपूर्ण पोष्ट