ब्रेकिन्ग न्युज

पूरै गाउँ मौरीपालन तर्फ आर्कषित

असोज १ बेनी म्याग्दीको मंगला गाउँपालिका-३ सातबिसेका बासिन्दाले गाउँभरिनै मौरीपालन गरेका छन् । अनुकूल वातावरण, चरनको उपलब्धता, बजारको सहजता, थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने भएकाले सातबिसेका बासिन्दा व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।

सातबिसेमा ३५ घरको बसोबास छ । एउटा घरमा ४ देखि १५ घार मौरी पालेका छन् । घारको संख्या बढाउँदै लैजाने अगुवा कृषक टेकबहादुर खड्काले बताए ।

‘परम्परागत काठको मुडे घारमा घरायसी प्रयोजनका लागि मौरी पालिएको थियो’, खड्काले भने, ‘व्यावसायिक मह र मौरी उत्पादन गर्ने उद्देश्यले आधुनिक घारमा मौरीपालन गर्ने अभियान चलाएका छौं ।’

१२ वर्ष कुवेत, ३ वर्ष दुवई र १६ वर्ष भारतमा काम गरेर गाउँ फर्किएपछि खड्काले मौरीसँगै माछापालन गरेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममा सातबिसेलाई समेटेको छ ।

नमुना मौरीपालन समूह गठन गरेर सामूहिक मौरीपालन सुरु गरेका हुन् । मन्त्रालयको अनुदानमा कृषकलाई १२९ वटा मौरीसहितको घार वितरण गरिएको समूहका सचिव नुरबहादुर खड्काले बताए ।

स्थानीयको दुई लाख १९ हजार ३०० रुपैयाँ र मन्त्रालयको आठ लाख १२ हजार ७०० रुपैयाँ लगानीमा मौरीपालन गरिएको हो । आठ हजार रुपैयाँ पर्ने मौरीसहितको घार खरिद गर्न कृषकले प्रतिघार एक हजार सात सय रुपैयाँका दरले लगानी गरेका छन् ।

यहाँ एपी सेरेना जातको मौरी पालिएको हो । मंगला गाउँपालिकाले पनि सातबिसेलाई मौरी पकेट क्षेत्र बनाउने योजना अघि सारेको उपाध्यक्ष सिर्जना केसीले बताइन् । मौरीपालन विस्तारका लागि प्राविधिक र बजारीकरणमा कृषकले सहयोगको अपेक्षा राखेका छन् ।
श्रोत अनलाईन खबर